रेखाले यो किन बुझिनन् ?

रेखाले यो किन बुझिनन् ?


rekha-thapa 2
आफ्नै लगानीमा बनेको चलचित्र ‘रामप्यारी’ बनाएकी रेखा थापा चलचित्र प्रदर्शन तिथि नजिकिँदै गएपछि दर्शक फकाउन व्यस्त छिन् । आफ्नो फेसबुक पेजमा हरेक दिनजसो फिल्मसँग सम्बन्धित संवाद र दृश्य पोष्ट गर्दै आएकी रेखाले काठमाडौंमा हुने कार्यक्रममा सहभागी भएर रामप्यारी हेरिदिन आग्रह गरेकी छिन् ।

प्रचण्डसँग नजिकिएपछि माओवादी बनेकी रेखाले माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घदेखि अन्य सर्वसाधारणलाई समेत रामप्यारी हेरिदिन आग्रह गरिन् । रामप्यारीमा टेम्पो चलाउने महिलाको कथा भएको उनको भनाइ थियो । एउटा मजदुरको कथामा फिल्म बनाएको भन्दै मजदुरहरूलाई उनले फिल्म हेरिदिन आग्रह गरेकी छिन् ।

आफूले निकै राम्रो फिल्म बनाएको दाबी गर्ने रेखाले पछिल्लो समय दर्शकलाई सन्तुष्ट बनाउन भने सकेकी छैनन् । अघिल्लो फिल्म हिम्मतवालीलाई पनि नयाँ पुस्ताका दर्शकले मन पराएका थिएनन् । रामप्यारी कस्तो छ यसै भन्न सकिँदैन । तर, प्रोमो हेर्दा पुराना पुस्ताका दर्शकलाई टार्गेट गरेको बुझिन्छ । आफूलाई जमानाअनुसार चल्ने टाठी–बाठी ठान्ने रेखाले पुरानै ढर्राको फिल्मले दर्शक तान्दैन भन्ने तथ्य नबुझेकी हुन् कि, कुन्नि ?