अस्मि बनिन् मिस नेपाल २०१६

अस्मि बनिन् मिस नेपाल २०१६


Aasmi

यसवर्षको मिस नेपालको ताज पहिरिने सपना पालेर प्रतिष्पर्धामा उत्रिएका सुन्दरीहरु थिए- आश्मा केसी, कृतिमा रिमाल, सञ्जग कट्टुवाल, सचिना श्रेष्ठ, जुवी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सुनिया शर्मा, अन्सु केसी, कुसुम थापा मगर, अस्मी श्रेष्ठ, करुणा खड्का, अनिता कार्की, वर्षा लेखी, सन्दिपा लिम्बु, सृजना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ र प्रेरणा अधिकारी । यी सुन्दरी युवतीमध्येबाट मिस नेपाल छानिइन् २२ वर्षीया अस्मी श्रेष्ठ ।

निर्णायकमध्येका एक राजेन्द्र थापाले उनलाई सोधेका थिए- ‘के महिलालाई आरक्षण दिनुपर्छ ? यदि पर्छ भने कति समयलाई दिनुपर्छ ?’ आस्मीको जवाफ थियो- ‘आरक्षण चाहिदैन, किनकि, २१ औं शताब्दीमा हामीले पहिलो महिला राष्ट्रपति र तीन सिएनएन हिरो पाइसकेका छौं।’ बस्, अन्नपूर्ण होटलमा शुक्रबार साँझ आयोजित मिस नेपाल प्रतियोगिताको फाइनलमा राष्ट्रिय नेटबल खेलाडीसमेत रहेकी सुन्दरी अस्मीलाई मिस नेपाल वल्र्डको ताज दिलाउन यो मिठो जवाफले निकै हदसम्म भूमिका निर्वाह गर्यो । अस्मीले उपाधीसँगै यामाहाको स्कुटर र एक लाख प्राप्त गरिन् भने मिस वल्र्डमा समेत उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

राजेन्द्र थापा, अस्मी राणा, लक्ष्मण हुमागाँई, बबिता बस्नेत, गंगाजंग थापा, इन्दिरा जोशी, सचिन श्रेष्ठ, नबिना लामा, जीवन लुइटेल, संगीता श्रेष्ठ र स्नेहालक्ष्मी राणा निर्णायकका रुपमा रहेका प्रतियोगितामा मिस नेपाल अर्थ रोशनी खत्रीघोषित भइन् । उपाधीसँगै उनले ७५ हजार र फिलिपिन्स् एेयरलाईन्सको टिकट जितेकी छिन् । उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यस्तै, मिस नेपाल इन्टरनेशनलको उपाधी वर्षा लेखीले जितिन् । उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट हासिल गरेकी छिन् । उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा विभिन्न विधाअन्तर्गत बब्ली आयुष्मा श्रेष्ठ, फेन्डसिप अन्सु केसी, गाउन, फोटोजेनिक र इन्टेलेक्चुअल अस्मी श्रेष्ठ, फेसिनो र एथलेटिक आस्मा केसी, स्कलर र ब्युटीफूल स्किन प्रेरणा अधिकारी, कन्फिडेन्ड र पर्शन्यालिटी रोशनी खत्री, ट्यालेन्ट सृजना रेग्मी र ब्युटी विथ प्रपोज प्रतिमा दवाडीले जितिन् । त्यस्तै नम्रता श्रेष्ठ, रोशनी खत्री, अस्मी श्रेष्ठ र सृजना रेग्मी टप ५ मा छानिएका थिए।