सेनाका वीरमान लामा च्याम्पियन

सेनाका वीरमान लामा च्याम्पियन


Birman

नेपाली सेनाका वीरमान लामा ‘१४औँ राष्ट्रिय पुरुष तौल समूह तथा १३औँ राष्ट्रिय महिला खुला फुलकन्ट्याक्ट कराते प्रतियोगिता– २०७२’ काता खुलातर्फ पहिलो भएका छन् । उनले नगद पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए । दोस्रो भएका सेनाकै सुनिल नगरकोटीले २५ सय र तेस्रो भएका रूपन्देहीका साहिल इराकीले एक हजार प्राप्त गरेका थिए ।

नेपाल क्योकुसिन कराते डो सङ्घको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ नेपाली सेनाकी विन्दु पुनमगर पहिलो भइन् । उनले नवलपरासीकी सुजाता राईलाई पराजित गरेकी थिइन् । ललितपुरकी दीपा शाही तेस्रो र सुस्मिता राई चौथो भए । राखेप कभर्डहलमा आयोजित प्रतियोगिताको पुरुष ५० केजी तौलमा सशस्त्रका सञ्जय राई, ललितपुरका समीर तामाङ, नवलपरासीका शक्ति मातिम मगर तथा काठमाडौंका रामकुमार कुसवाहा पहिलो, दोस्रो, तेस्रो र चौथो भएका थिए ।

पुरुषकै ६० केजीमुनि तौलमा ललितपुरका विकेश महर्जनले काठमाडौंका सन्तोषकुमार लामालाई पराजित गर्दै स्वर्ण पदक पाए । तेस्रो स्थानमा नेपाली सेनाका मनोज थपलिया र चौथो स्थानमा कास्कीका गणेश अधिकारी रहे । ६० केजीमाथिको तौल समूहमा मकवानपुरका सनि सिंहले काठमाडौंका कुञ्जन श्रेष्ठलाई पराजित गर्दै प्रथम स्थान प्राप्त गरे । तेस्रो स्थानमा कास्कीका रूपक नेपाली र चौथो स्थानमा काठमाडौंका दिनेश खड्का रहे । पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश: १० हजार, पाँच हजार, २५ सय र एक हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरेका थिए ।