गीतकारले ल्याए उपन्यास

गीतकारले ल्याए उपन्यास


1 Surendra Rana
सबैले दिने उस्तै हुन्छ माया…, थामेर किन छोड्यौ हातहरू…, मेरो याद अझै आउँछ भने…, जुनी–जुनीलाई मेरी उनीलाई… जस्ता सुमधुर गीतका रचनाकार सुरेन्द्र रानाले दर्जनौँ सिनेमामा समेत गीत लेख्नुभएको छ । कालो चश्मा लाऊ है मैया विशाल बजारको, नगर्नु है चिन्ता मैया दुई–चार हजारको…’, जोडी ढुकुर एकै ठाउँ नहुँदा, डाँडाकाँडा रसायो म रुँदा.., लाठीचार्ज नगर मेरो मायामा… जस्ता चर्चित गीतका यिनै सर्जकले अब उपन्यास पनि ल्याएका छन् । सर्जक रानाको पहिलो उपन्यास ‘रेनी ड्रिम्स’ भृकुटीमण्डपमा चलिरहेको चौथो बृहत् पुस्तक प्रदर्शनीमा कलाकार किरण केसी, शिवहरि पौडेल, निर्देशक देवकुमार श्रेष्ठ र श्याम राईका साथै प्रदर्शनी अवलोकन गर्न आएका पाठकको हातबाट एकसाथ लोकार्पण गरियो ।

‘जीवन भन्नु मानिसको हृदयमा उब्जने कोमल भावनाहरूको जोड हो, र जीवन जस्तै मेरो उपन्यास पनि भावनाको जोड हो,’ रानाले भन्नुभयो । ‘छिन्नलता गीत पुरस्कार २०६९’ का साथै गीत–सङ्गीतसम्बन्धी अरू धेरै पुरस्कार पाएका रानाले थपे, ‘आफूले अरू केही काम नगरेर पूरा जीवन गीतलेखनमा अर्पण गरिसकेको थिएँ, तर जीवनका लामा कथा उपन्यासबाटै भन्नुपर्ने रहेछ, त्यसैले उपन्यास लेखेँ ।’
rainy dream
डिकुरा पब्लिकेसनका प्रमुख तथा सर्जक पुण्यप्रसाद प्रसाईंका अनुसार प्रेम र प्रेरणाविषयक यो उपन्यास सङ्घर्ष गर्ने जुझारू युवालाई राम्रो लाग्नेछ । जिन्दगीमा केही पटक असफल भएर, केही पटक बाटो बिराएर सबै कुरा सकिँदैन । जुन काम जहाँ बसेर गरिँदै छ त्यसलाई त्यहीँ सफल बनाउन सकिन्छ । तर, त्यसका लागि साहस गर्नुपर्छ भन्ने चेत दिने यो उपन्यास खासमा चाहिँ प्रेमकै विषयक उपन्यासको रूपमा बुझ्नेछन् पाठकले । एक युवतीको एकतर्फी प्रेम र त्यो प्रेम प्राप्तिका लागि उसले गरेको सङ्घर्ष, त्याग र समर्पण हो ‘रेनी ड्रिम्स’ । यो उपन्यासले प्रेम गर्नेहरूको मन जित्नेछ ।’