राजनीति र चलचित्रमा एउटै रोग

राजनीति र चलचित्रमा एउटै रोग


-युवराज लामा
चौंतीसौँ प्रधानमन्त्रीको बाजी कसले जित्ला ? संविधानसभामा भएका दुई चुनावबाट समेत यसको छिनोफानो हुन सकेको छैन । साधारण रूपमा हेर्दा बहुमतको खेल देखिए पनि यसको पछाडिका कारण त्यति स्वाभाविक छैनन् ।
‘राष्ट्रिय सहमति’ नेतृत्वले सबैभन्दा बढी उच्चारण गर्ने शब्द हो यो । तर, यो कार्यान्वयनको तहमा चाहिँ कहिल्यै आएन । सबैलाई थाहा छ, ठूला दलबीच सहमति भएन भने संविधान बन्दैन । संविधान बनेन भने देश सङ्क्रमणमै रहिरहन्छ । यति हँुदाहुँदै पनि दुई वर्षदेखि सहमति हुन सकिरहेको छैन । आखिर कसले रोकेको छ सहमति हुन – किन मिल्न सक्दैनन् दलहरू – जवाफ खोज्न गाह्रो छैन । यसका पछाडि अदृश्य शक्तिको चलखेल रहेको घामजत्तिकै र्छलङ्ग छ । निश्चित कुरो के हो भने त्यो शक्ति स्वदेशीचाहिँ पक्कै होइन । उत्तरतिरको होस् वा दक्षिण अथवा सात समुद्रपारि, जहाँको भए पनि त्यो शक्ति हाम्रा पार्टीहरूमा, पार्टीका गुटमा वा शक्तिशाली नेताहरूलाई हात लिएर आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेको छ ।
यथास्थितिवादी, प्रतिगामी, प्रतिक्रान्तिकारी धार र अग्रगामी क्रान्तिकारी धारबीच चलिरहेको अन्तर्द्वन्द्व र अन्तरसङ्घर्ष अहिलेको प्रमुख मुद्दा हुन् । यही ठाउँमा त्यो अदृश्य शक्ति खेलिरहेको छ भन्दा अत्योक्ति नहोला । अझ, धर्मनिरपेक्ष, गणतन्त्र, दलहरूबीच भएको बृहत् शान्ति-सम्झौता र राज्यको पुनर्संरचनाजस्ता मुद्दा त्यो शक्तिको टाउको दुखाइको विषय बनेको छ ।
नेपाली राजनीतिलाई यस्तै किसिमको समस्याले गाँजेर राखेको छ । त्यसो त अन्य कुनै पनि क्षेत्र यो समस्याबाट अछुतो छैन । त्यसमा पनि चलचित्र क्षेत्र प्रत्यक्ष रूपमै पेलानमा परेको छ । नेपाली नागरिकता बोकेका कथित ती चलचित्रकर्मी त्यही अदृश्य शक्तिको प्रत्यक्ष कारोबारी बनेका छन् । विडम्बना नै भन्नुपर्छ, यो नाङ्गो नाच टुलुटुलु हेरेर बसेको छ, राज्य ।
यस्तो बेलामा चलचित्रकर्मीको पनि ठूलो झुन्ड मूकदर्शक बनेको छ । केही बुझेका चलचित्रकर्मी यस किसिमको अराष्ट्रिय कदमको विरुद्धमा वा राष्ट्रिय चलचित्र उद्योगको पक्षमा जीवन नै समरि्पत गरेर लागिपरेका छन् । यो सुखद पक्ष हो । तर, विदेशी चलचित्रका ती माफिया तिनै राष्ट्रवादीको छविमा दाग लगाउन अन्टसन्ट, अप्रमाणित र भ्रामक हल्ला फिँजाएर राष्ट्रिय चलचित्रलाई माया गर्नेहरूका विरुद्ध खनिने या उनीहरूलाई रुवाउने प्रयास गरिरहेका छन् । वर्तमानको यो सबैभन्दा दु:खद पक्ष हो ।
विगतमा विदेशी चलचित्रका माफियाहरूले राष्ट्रिय चलचित्र उद्योगको नेतृत्व गरेर बस्नेहरूलाई धेरै रुवाएका छन् । तत्कालीन चलचित्र निर्माता सङ्घको नेतृत्वमा रहेका बखत यिनीहरूलाई धेरै ललिपप खुवाएर उद्योगको हितमा काम गरिएको थियो । उनीहरू जहिल्यै पनि विदेशी चलचित्रमा लाग्ने विकास शुल्कहरू हटाउनुपर्छ भन्थे -उनीहरूको यो नारा यथावत् छ ।) । निर्लज्ज ढङ्गले विदेशी चलचित्रलाई सुविधा थप्नुपर्छ भन्थे । नेपाली चलचित्रको पक्षमा भएको एउटा आन्दोलनलाई तुहाउन उनीहरूले हदैसम्मको घिनलाग्दा हर्कतहरू नगरेका होइनन् । ती दिनलाई फर्केर हेर्दा अहिलेको राष्ट्रिय चलचित्र उद्योगका नेताहरूलाई भन्न मन लाग्छ, विगतका उपलब्धि खेर जान नदेऊ । खोसिएका अधिकारहरू लिन कम्मर कसेर लाग ।
तर भनेजस्तो कहाँ हुँदो रहेछ र – आजका दिनमा विदेशी चलचित्रका माफियाहरू झनै सक्रिय भएर लागिपरेका छन् । चलचित्रकर्मी र संस्कृतिकर्मीहरूबीच अन्तरसङ्घर्ष र कलह मच्चाउन ती विदेशी चलचित्रका माफियाहरू केही हदसम्म सफल भएका पनि छन् । यसको कारण संस्कृतिकर्मीहरू एक मत हुन नसक्नु पनि हो । यहाँ दुई धार देखा परेको छ । चलचित्र भनेको नेपालको कला, भाषा, संस्कृति र अस्तित्वसँग गाँसिएको कुरा हो भन्ने पहिलो धार छ । अर्कोतर्फ चलचित्र क्षेत्र भनेको मनोरञ्जनको व्यवसाय हो भन्ने मात्र बुझेर बस्ने धार छ । यी दुई धारबीच विदेशी चलचित्रका व्यवसायीहरू र ती व्यवसायभित्र रहेका माफियाहरू चलखेल गर्न सफल छन् । चलचित्र र अन्य मनोरञ्जनका साधनहरू खुल्लमखुल्ला आयत गर्न पाउनुपर्छ भन्दै आफ्नो व्यावसायिक स्वार्थ र आर्थिक लुट मच्चाउन राज्यका नीति निर्माण तह र स्वदेशी चलचित्रकर्मीलाई समेत प्रभाव पार्न ती माफिया सफल हुँदै आएका छन् ।
चलचित्र क्षेत्र र यसमा समाहित माफियाहरूको जगजगी चरम ठाउँमा रहेको वर्तमान परिप्रेक्ष्यमा पनि राज्य दृष्टिविहीन, श्रवण शक्तिविहीन र शब्दविहीन प्रतीत भइरहेछ । यस्तो बेलामा विदेशी चलचित्रको अतिक्रमणबाट स्वदेशी चलचित्र क्षेत्रको रक्षा कसले गर्ला – यो प्रश्न अनुत्तरित छ । जबसम्म यो प्रश्न अनुत्तरित रहन्छ तबसम्म राष्ट्रिय चलचित्र उद्योगको अवस्था दयनीय नै रहिरहने निश्चित छ ।
चलचित्र र राजनीतिको अवस्था उत्तिकै गएगुज्रिएको छ । यी दुवैको रोग एउटै हो । यसका लागि आवश्यक उपचार पद्धति, ओखती र चिकित्सक एउटै र उस्तै नै भए पनि हुन्छ । तर, यसको उपचार समयमै भएन भनेचाहिँ पछि जतिसुकै मरिहत्ते गर्दा पनि निको नहुने रोगले गाँज्न सक्छ । त्यसैले देशका लागि राजनीति गर्ने वा राष्ट्रिय चलचित्र उद्योगको पक्षमा चिकित्सकीय भूमिका निर्वाह गरिरहेकालाई समयमै सत्बुद्धि पलाओस् । हामी सबै आजैदेखि खबरदारीमा लागौँ । सायद यही नै अहिलेको प्रमुख र आवश्यक लडाइँ हो । -लेखक चलचित्रकर्मी हुन् ।)