यसरी गए ‘क्याराभान नायक’ थिन्ले

यसरी गए ‘क्याराभान नायक’ थिन्ले


Thinle

ओस्कार अवार्ड जित्न सफल नेपाली चलचित्र ‘क्याराभान’का नायक थिन्ले लोन्डुपको निधन भएको छ । माथिल्लो डोल्पाका अगुवा समाजसेवीसमेत रहेका थिन्लेको गत आइतबार घोडाबाट लडेर प्राण गएको हो । उनी विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयका कारण निकै चर्चित र लोकप्रिय थिए । माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित उक्त चलचित्र फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेका हुन् ।

माथिल्लो डोल्पामा जन्मेका थिन्लेले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । चलचित्रमा देखिनुअघि उनी साल्दाङ गाविसका अध्यक्ष थिए । पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका थिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरेका थिए ।

डोल्पाको चाबाङ जाँदा दुनैबाट ४–५ घन्टाको बाटोमा पर्ने खेत्कामा उनी सवार घोडालाई पछिल्तिरबाट खच्चडले ठक्कर दिँदा घोडासहित भीरबाट लडेर घाइते बनेका थिन्लेको उपचारको निम्ति राजधानी पुर्‍याउन हेलिकोप्टरको बन्दोबस्त मिलाउने क्रममै निधन भएको हो ।