फोरम अध्यक्ष यादव उपप्रधान तथा परराष्ट्रमन्त्री

फोरम अध्यक्ष यादव उपप्रधान तथा परराष्ट्रमन्त्री


काठमाडौं – भोलि सोमबारसम्ममा एकीकृत नेकपा (माओवादी), नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमबीच सरकारलाई पूर्णता दिने सहमति भएको छ। सरकारमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्रालय लिएर उपप्रधानमन्त्रीका हैसियतमा सहभागी हुनुहुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष यादवबीच भएको छलफलमा सोमबार साँझसम्म मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तीन नेताबीच छलफलमा मन्त्रालय बाँड फाँडको समेत टुङ्गो लगाइएको छ। छलफलमा मधेसी जनअधिकार फोरमलाई सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र, वाणिज्य तथा आपूर्ति, कृषि तथा सहकारी र श्रम तथा यातायात व्यवस्था गरी चार मन्त्रालय दिने टुङ्गोसमेत लगाइएको थियो।

तीन नेताको छलफलले आज आइतबार बिहान सेना समायोजन विशेष समिति अन्तर्गत कार्यदलको अनौपचारिक बैठक बस्ने तथा एकीकृत माओवादी र एमालेबीच आज बिहान १० बजे माओवादी संविधानसभा संसदीय दलको कार्यालयमा दुइ पक्षीय वार्ता गर्ने तय गरेको छ। साथै छलफलमा प्रधानमन्त्री र संवैधानिक उपसमितिका सदस्यहरू सहितको सर्वदलीय बैठक आज साँझ ५ बजे बस्ने पनि तय भएको छ। तीन दलबीच सरकार सञ्चालनको न्यूनतम् साझा कार्यक्रम र आचारसंहिता पनि छिट्टै टुङ्ग्याउने सहमति गरिएको छ। -मेस