प्याजको गुदीको भ्रममा वर्तमान

प्याजको गुदीको भ्रममा वर्तमान


Suryendra

– सूर्यन्द्र

प्याजमा गुदी हुँदैन, पत्रपत्र छोडाउँदै गयो भने राग बढ्दै जान्छ । अन्तिम पत्र पछि खाली हुन्छ । आधुनिक युगमा त्यस्तै केही चलनहरू स्थापित भएका हुँदैछन् जसको अर्थ र प्याजको गुदी उस्तै छ । गहकिलो कुराको भान दिने यस्ता चलनहरू प्याजसरह हुन्छन । खोतलेन भने ठोस कुरा भएको झल्को दिन्छन् । खोतल्न खोज्दा प्याजले झैँ राग फाल्छन् । खोतल्नेको हिम्मतले साथ छोड्छ । तर, थप खोतल्ने हो भने यस्ता मान्यताहरू आधारहीन भएको भेटिन्छ, ठिक प्याजको गुदीजस्तै ।

यस्ता केही चलनहरू केलाउने जमर्को पक्कै गाली खाने मेलो हुन्छ । तै पनि कसै न कसैले कहिले न कहिले त गर्नै पर्छ । अवको युग भनेको युवाको युग हो । युवाहरूलाई नेतृत्व हस्तान्तरण गरिनु पर्दछ । यो कुरा युवाहरूलाई दिग्भ्रमित गरेर उनिहरू कै शोषण गर्ने नारा भएको छ । यो सुन्दा लाग्छ कि विगतमा युवाहहरूलाई कुन्ठित बनाईयो, अगाडि बढ्न दिइएन ।

युवा जीवनको एक अवस्था हो । अलग जीवन र अलग अस्तित्व हैन । यो नाराले एक व्यक्तिलाई नै बाड्ने काम गरेको छ । एक युवा प्रौढ वा वृद्ध नहरन पनि सक्छ । तर एक प्रौढ वा वृद्ध युवा भइसकेको हुन्छ । कुनै प्रतिभावानलाई कहिल्यै कुन्ठित बनाउन सम्भव छैन, प्रतिभाले आङ्खनो निकाशको बाटो खोज्छ ।

पाँच बर्षका मोजार्ट थिए जसले युरोपिन दरबारलाई चकित पारे । १७ बर्षको हुँदा साल्जवर्ग कोर्टका संगीतकारहरूलाई नेतृत्व दिन थालेका थिए । म्याडम क्यूरीले सन १९०३मा नोवल पुरस्कार पाउदा केवल ३६ बर्षकी थिइन् । उनलाई कसैले मौका दिएको थिएन । बाटो छेक्ने अनेकौ परिस्थितिले उनलाई रोकेन । बीपी कोइरालाले नेपाली कांग्रेस पार्टीको बिजारोपण गर्दा युवा नै थिए ।

सामान्यतया युवा अवस्था १८ वर्षदेखि सुरु भएर ४० वर्षमा समाप्त हुन्छ । यो २२ वर्ष पनि मलाई नेतृत्व देउ भनेर रोड्याई गर्दा पनि सफल हुन नसेका नेताहरूमा क्षमता होला त ? के ४० पछि आफूले यत्रो वर्ष लडेको युवा हकको निमित्त बाटो छोड्लान त ? हो कसैले बाल्यावस्थामै आफ्नो स्थान बनाउँछन् भने कसैले युवा अवस्थामा । प्रौढ अवस्थामा स्थान बनाउन सफल हुने धेरै होलान् । उनीहरूको त्यो सफलताको जग बाल्यअवस्थासम्म पनि रहेको हुन्छ ।

देश विकास गर्न भनेर कुचो समात्ने, प्लाष्टिक टिप्ने अर्को यस्तै चलन हो जसको केही आधार छैन । यस्ता कर्मकाण्डी कामहरू जो केवल गर्नको निमित्त गरिन्छ हरेक कालखण्डमा हुँदै आएका छन । कुनै वेला एउटै स्थानमा बर्षेनी बृक्षारोपण गरिथ्यो । न कहिले रुख बढ्यो न त्यसको कुनै उपलब्धी भयो । आजकल कुचो र टोकरी बोकेर बाटो र नदी सफा गर्न तँछाडमछाड हुन्छ । न फोहर नै घट्छ, न उपलब्धि नै केही हुन्छ ।

पहिलेको कर्मकाण्डी वृक्षारोपण स्थल आज पनि नाङ्गा नै छन् । उतिखेर कामको निमित्त गरिएको वृक्षारोपणबाट निक्लेका छिप्पिएका काठका कुर्सीमा बस्ने पनि छन् । क्यामेरा, रेकर्डर लिएर तामझामका साथ वढारेको सडक घण्टाभित्रै जस्ताकोतस्तै हुन्छन् । चुपचाप बढारेका सडक निरन्तर सफा भएका पनि छन् ।