पूर्व ‘श्री ५’को दिल्ली भ्रमणले नेपाली राजनीतिमा तरङ्ग

पूर्व ‘श्री ५’को दिल्ली भ्रमणले नेपाली राजनीतिमा तरङ्ग


Gyanendra-shah

पूर्व ‘श्री ५ महाराजाधिराज’ ज्ञानेन्द्रको अप्रत्यासित रूपमा सम्पन्न भारत भ्रमणले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबैको भावना समेटिने संविधान’ जारी गर्न दिएको सुझाव र केही दिन पर्खिएर भए पनि सबैथरिलाई समेट्न भारतीय पक्षले गरेको आग्रहलाई लत्याएर गत असोज ३ गते संविधान जारी गर्न सक्नुलाई प्रधानमन्त्री खड्गप्रसादलगायतका नेताहरूले आफ्नो बहादुरी ठान्दै आएका छन् । र, उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भएको महसुस पनि गरेका छन् । तर, राजाको अप्रत्यासित भ्रमणले भने ओलीलगायतलाई अधिक झस्काएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार पूर्व श्री ५ महाराजाधिराजलाई नयाँदिल्लीबाट टेलिफोनमार्फत तत्काल दिल्ली आगमनको निम्ति निमन्त्रणा आएको थियो । केका निम्ति, कसरी कति बजे, कोसँग भेटघाट गर्ने भन्नेसमेत जानकारी नगराई तुरुन्तै नयाँदिल्ली आउन भनिएपछि गत बुधबार (वैशाख १५) साँझ पाँच बजे एयर इण्डियाको विमानबाट उहाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । अङ्गरक्षक र परिवारका अन्य कुनै सदस्यसमेत नलिई स्वकीय सचिव सागर तिमिल्सिनालाई मात्र साथ लिएर साँझ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका पूर्व श्री ५ महाराजाधिराजलाई विमानस्थलमा ‘खास’ मानिसका विशेषदूतले स्वागत गरी सोझै होटेलमा पुर्‍याएका थिए । पहिले–पहिले उहाँ दिल्ली जानुहुँदा होटेल लीलामा बस्ने गर्नुहुन्थ्यो, तर यसपटक उहाँलाई ताजमानसिंह होटेलमा विशिष्ट अतिथिका रूपमा राखिएको थियो । जसले विमानस्थलबाट उहाँलाई होटेलमा पुर्‍याएका थिए तिनै व्यक्तिको संयोजनमा केही गुप्त बैठकहरू सम्पन्न भएको र भोलिपल्ट बिहीबार (वैशाख १६) ‘खास मानिस’सँग दिवाभोजसँगै विशेष वार्तालाप सम्पन्न भएपछि अन्य केही विशिष्ट व्यक्तिहरूलाई भेटेर पूर्व श्री ५ बिहीबार राति नै स्वदेश फर्कनुभएको छ । कुनै पनि मिटिङमा स्वकीय सचिव सागर तिमिल्सिनालाई सामेल नगराइएको बुझिएको छ ।

पूर्व श्री ५ बाट भएको करिब तीस घन्टाको यो भ्रमणलाई राजनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । तर, के विषयमा कुरा भए र कस्तो सहमति बनेको छ भन्नेबारे अहिलेसम्म आधिकारिक तवरमा कुनै जानकारी गराइएको छैन । राजनीतिक विश्लेषकहरूले पूर्व श्री ५ बाट भएको यो ‘तीसघन्टे भ्रमण’ नेपाली राजनीतिलाई नयाँ मोड दिन निर्णायक तवरमा सहयोगी बन्ने ठहर गरेका छन् ।

बिहीबार भारत भ्रमणबाट फर्कनुभएका पूर्व श्री ५ महाराजाधिराज सोही दिन बडामहारानी कोमलका साथ काठमाडौंबाट बाहिर निस्कनुभएको थियो । उहाँ दिल्ली प्रस्थान गर्नुभएकै दिन पूर्वयुवराज्ञी हिमानी आफ्ना सुपुत्रसुपुत्रीका साथ र्‍याफ्टिङका लागि चरौँदी र कुरिनटारतर्फ लाग्नुभएको थियो । दिल्लीबाट फर्किएलगत्तै बडामहारानी र स्वकीय सचिव सागर तिमिल्सिनालाई लिएर पूर्व श्री ५ पनि कुरिनटार प्रस्थान गर्नुभएको थियो । पहिलो दिन चरौँदीदेखि कुरिनघाटसम्म र दोस्रो दिन कुरिनदेखि मुग्लिनसम्म पूर्वराजपरिवारका सदस्यहरू र्‍याफ्टिङमा सामेल हुनुभएको र उहाँहरूले त्रिशूली नदीकिनारकै विभिन्न स्थानमा रात बिताउनुभएको बुझिएको छ । पूर्वराजदम्पतीले भने र्‍याफ्टिङमा भाग नलिनुभएको समाचार सूत्रहरूले जनाएका छन् । ग्रेट नेपाल होलिडेज प्रा.लि.को संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ । उहाँहरू सोमबार (वैशाख २० गते) राजधानी फर्किसक्नुभएको छ । यो पारिवारिक जमघटमा पूर्वयुवराज पारसलाई भने सामेल गराइएको थिएन ।