मोबाइल फोन चढाएर जुवाडे मुक्त !

मोबाइल फोन चढाएर जुवाडे मुक्त !


Juwade

पेसेवर जुवाडेहरू गत शनिबार पक्राउ परेपछि तिनको परिवारका सदस्य तथा नातेदारहरूमा छाएको खुसी चौबीस घन्टा पनि टिक्न पाएन । भक्तपुर प्रहरीले नगदसहित कब्जामा परेका जुवाडेहरूलाई भोलिपल्टै ससम्मान रिहा गरेपछि जुवाडे परिवारका सदस्यहरू दु:खी बनेका हुन् । प्राप्त जानकारीअनुसार भक्तपुरको तर्खगाल भन्ने स्थानमा सञ्चालित जुवाको अखडाबाट गत शनिबार हरिबोल न्यौपानेसहितका जुवाडेहरू डेढ लाख रुपैयाँसहित पक्राउ परेका थिए । थप अढाइ लाख रुपैयाँ जुवाको खालबाट बेपत्ता भएको भए पनि डेढ लाख रुपैयाँचाहिँ प्रहरीले नियन्त्रणमा लिएको देखाएको थियो । एघारमध्ये एक जुवाडे भाग्ने क्रममा लडेर खुट्टा भाँचिएकोले अस्पतालमा उपचार गराइरहेको र प्रहरी पृष्ठभूमिका तीनजना भाग्न सफल भएकोले बाँकीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो ।

यसरी पक्राउ परेपछि जुवाडेहरूले प्रतिव्यक्ति एक लाखको दरले नगद उठाएको र एक आइफोन सिक्सको व्यवस्था गरेको भोलिपल्टै उनीहरू हिरासतमुक्त हुनुलाई रहस्यमयी मानिएको छ । जुवाडेहरूलाई छुटाउन बालुवा माफियाका रूपमा परिचित पूर्वमन्त्री महेश बस्नेतसमेत सक्रिय भएका थिए । जुवाडेहरूको फोनसेट र नगद बस्नेतलाई नै बुझाइयो या प्रहरी हाकिमलाई भन्ने स्पष्ट हुन सकेको छैन । यस प्रकरणले भक्तपुर प्रहरी परिसरका हाकिमहरूलाई सन्देहको घेरामा भने पारेको छ ।