ओली सरकार टिकाउन यस्तो सहमति

ओली सरकार टिकाउन यस्तो सहमति


UML-Mao

नेपाली कांग्रेसको प्रस्तावबमोजिम आफ्नो नेतृत्वमा सरकार गठन गर्न तयार रहेको वक्तव्य जारी गरेको चौविस घण्टा नबित्दै बोली फेरेका एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे सहमतिमा हस्ताक्षर गरी खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनु उचित लागेको बताएका छन् । यससम्बन्धी सहमतिमा एमाले र एमाओवादीबीच हस्ताक्षर भएको छ । विहिबार गरिएको यस सहमतिअनुसार वर्तमान सत्ता गठबन्धनमाथि मडारिएको खतरा तत्कालको लागि टरेको छ ।

बालुवाटारमा बिहिबार राति सम्पन्न दुई दलको बैठकले वर्तमान संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयन तथा आपसी विश्वास एवम् समझदारीलाई अझ सुदृढ पार्दै राष्ट्रका समग्र समस्या समाधान गर्ने सहमति भएको बताइएको छ । एमाले र एमाओवादीबीच भएको सहमतिअनुसार संविधानको कार्यान्वयन र आर्थिक–सामाजिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गरिने र संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संस्थागत कार्य प्रभावकारी रुपमा अघि बढाइने छ ।

सङ्घीयतालगायत विषयमा तराई–मधेसकेन्द्रित लगायत राजनीतिक दलले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाइने, विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप सङ्क्रमणलीन न्यायसम्बन्धी काम गर्न ठोस कार्यतालिकासहित प्रक्रिया अघि बढाइने, सहिद तथा बेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषद्ले गरेका निर्णयअनुरुप राहत प्रदान गरिने, द्वन्द्वकालमा घरायसी कागजका आधारमा खरिद बिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणका आधारमा रजिस्ट्रेसन गरिने छ ।

यसै गरी सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते भएकाको उपचार र जीविकोपार्जनका लागि उचित व्यवस्था गरिने, वर्गीकरण गरिएका घाइतेको उपचारका लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने तथा सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दा फिर्ता, माफी र मिनाहाको प्रक्रिया अविलम्ब अघि बढाइने छ भने राजनीतिक तथा प्रशासनिक नियुक्ति, सरकारका सम्पूर्ण निर्णय लगायत सरकार सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण विषयमा राजनीतिक दलका प्रमुख नेताका बीचमा निरन्तर संवाद र सहमति कायम गरिने, यस अगाडि भएका सहमति तत्काल कार्यान्वयन गरिने, भूकम्पपछिको पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाइने र त्यसका लागि स्वयम्सेवक परिचालन सहितको राष्ट्रिय अभियान पनि सञ्चालन गरिने छ ।

उक्त सहमतिपछि एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नौबुँदे सहमतिका आधारमा सरकार अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र संविधान कार्यान्वयनका लागि मधेसकेन्द्रित राजनीतिक पक्षले व्यक्त गरिहेको असन्तुष्टिलाई वार्ताद्वारा अगाडि बढाउने बारे सहमति भएको उनले बताए ।

सरकार परिवर्तन गर्नेबारे कुनै सहमति नभएको तर आपसी समझदारी र सहमतिका आधारमा राष्ट्रिय सरकार बन्न सक्ने नै भएको बताउँदै उनले नेपाली कांग्रेसले अहिलेको सन्दर्भमा एमाओवादीको नेतृत्वमा सरकार बनाउन र शान्ति प्रक्रिया पूरा गर्न आफू तयार रहेको भनेकाले एमालेसँग त्यसबारे बुधबार कुरासम्म राखिएको जानकारी उनले दिए ।

सो छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन र उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सहभागिता थियो ।