संविधानको मृत्यु भइसकेको दाबी

संविधानको मृत्यु भइसकेको दाबी


upendra yadav

नयाँ संविधानको कार्यान्वयन पेचिलो मुद्दा बनिरहेको छ । यसरी संविधान कार्यान्वयनको मुद्दा गम्भीर चुनौतीको विषय बनिरहेको परिवेशमा मधेसकेन्द्रित एक नेताले वर्तमान संविधानको मृत्यु भइसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यान्वयन नहुँदै नयाँ संविधानको मृत्यु भइसकेको टिप्पणी गरेका हुन् । जारी भएकै दिन जनताले जलाएर संविधान अस्वीकार गरिसकेको जिकिर गर्दै अध्यक्ष यादवले जनताको अधिकार सुनिश्चित हुने गरी पुनर्लेखन नगरेसम्म यो संविधान काम नलाग्ने टिप्पणी गरे ।

राजधानीस्थित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले भने, ‘मृत्यु भइसकेको संविधानलाई जीवन्त बनाउने हो भने पुनर्लेखनको विकल्प छैन ।’ नश्लवादी चिन्तनमा आधारित संविधान भएकोले यसलाई अस्वीकार गरेको उनले बताए । पहिचान, संघीयता, समावेशी जस्ता राष्ट्रिय सवाल सम्बोधन गर्न यो संविधान चूकेको भन्दै सत्ता स्वार्थमा लागेर गलत नियतले जारी गरिएको संविधान मुलुकलाई काम नलाग्ने उनले बताए । ‘जनताको जायज मागलाई बेवास्ता गर्दै संविधान सभामा दफावार छलफल नै नगरी हतारमा संविधान जारी गरियो’, यादवले भने, ‘यसरी छल कपटपूर्ण ढंगले लादिएको संविधान हामीलाई मान्य छैन ।’ फोरम नेपालका अध्यक्ष यादवले आन्दोलनमा सरकारले दमनकारी नीति त्यो आत्मघाती कदम साबित हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । ‘सरकारले आन्दोलन दमन गरे परिणाम ठीक हुँदैन’, यादवले भने, ‘वार्ता र संवाद मार्फत् समाधान गर्नु पर्नेमा दमनकारी नीति अख्तियार भयो भने जनता प्रतिकारमा उत्रिन बाध्य हुन्छन् ।’

सिंहदरबार घेराउका लागि तयार रहन आह्वान
विभेदका विरुद्ध तथा अधिकारप्राप्तिका लागि जारी भनिएको मधेश आन्दोलनको क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको निर्धारित कार्यक्रमअनुसार वीरगंजको घण्टाघरमा विरोधसभा सम्पन्न भएको छ । गठबन्धनले घोषणा गरेको कार्यक्रमअन्तर्गत सिंहदरबार घेराउका लागि आह्वानसमेत गरेको छ । राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जारी मधेश आन्दोलन संविधानको पुनः संशोधन तथा पुनर्लेखनमार्फत माग पूरा नहुन्जेल जारी रहने र अबको आन्दोलन राजधानी केन्द्रित हुने भएकोले सिंहदरबार घेराउका लागि तयार रहन आम जनमानसलाई आग्रह गरेका छन् ।