कोटेश्वर क्याम्पसको भवन बनाउन भारतको सहयोग

कोटेश्वर क्याम्पसको भवन बनाउन भारतको सहयोग


राजधानीको कोटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पस भवन निर्माणका लागि भारत सरकारले चार करोड ८८ लाख चालीस हजार आर्थिक सहयोग प्रदान गर्ने भएको छ । गत साता भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, काठमाडौं जिल्लाका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी र क्याम्पसप्रमुखबीच भएको त्रिपक्षीय सम्झौतामा उल्लेख भएअनुसार भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गर्न लागिएको हो । सन् १९९० मा स्थापित कोटेश्वर बहुमुखी क्याम्पस नाफारहित सेवामुखी सामुदायिक कलेजको रूपमा चिनिएको छ भने यसको पुरानो तथा रुग्ण भवन सरोकारवाला सबैका निम्ति चिन्ताको विषय रहिआएको छ । भारत सरकारको सहयोगमा नयाँ भवन निर्माणपछि अध्ययन–अध्यापन कार्यसहित क्याम्पसको माहोलमा नयाँपन एवम् रचनात्मकता आउने विश्वास लिइएको छ ।

29 PR Pic

स्मरणीय छ, काठमाडौं जिल्लामा मात्रै तीन अर्ब ६३ करोडभन्दा बढी लगानीका विभिन्न चौध परियोजना मित्रराष्ट्र भारतको सहयोगमा सम्पन्न भएका छन् भने यस्तै नौवटा अन्य परियोजनाको लागत तीन अर्ब ८३ करोडभन्दा बढी रहेको बुझिएको छ । यसैगरी काठमाडौं जिल्लाका लागि भारत सरकारले ४१ वटा एम्बुलेन्स, तीनवटा विशेष मेडिकल भ्यान, ३७ वटा स्कुल बसलगायत भौतिक सहयोग विभिन्न सामाजिक संस्थामार्फत उपलब्ध गराएको छ । भारत–नेपाल सहयोग कार्यक्रमअन्तर्गत मुलुकभरका शैक्षिक, धार्मिक, सांस्कृतिक, स्वास्थ्यसेवालगायत क्षेत्रसम्बन्धी विभिन्न पाँच सय २९ भन्दा ज्यादा परियोजनाका लागि भारत सरकारबाट ७६ अर्बभन्दा बढी सहयोग प्राप्त भइसकेको छ ।