पशुपतिले करोडपति बन्न खोजेपछि…

पशुपतिले करोडपति बन्न खोजेपछि…


APF Logo

नेपाल प्रहरीमा यसअघि राम्रै छविका मानिने डीआईजी पशुपति उपाध्यायले मध्यक्षेत्र प्रहरी प्रमुखका रूपमा प्रस्तुत गरेको व्यवहार भने उनको छविअनुरूप हुन सकेन । उपाध्याय मध्यमाञ्चल क्षेत्र प्रहरी प्रमुखमा सरुवा भएर गएपछि उनले बारा, पर्सा र रौतहट जिल्लामा परिचालित घुमुवा प्रहरीले प्रहरी सङ्गठनकै बदनामी गरिरहेको सूचनाका आधारमा उनीहरूलाई कारबाही र सङ्गठनको छविमा सुधारका निम्ति भन्दै आफ्नो कार्यालयमा झिकाएका थिए । महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घुमुवा परम्परा खारेज भएको घोषणा गरेको पृष्ठभूमिमा पशुपति उपाध्यायको उक्त कदमलाई प्रशंसनीय मानिएको पनि थियो ।

तर, ती घुमुवाहरूलाई पशुपतिले आफ्नै मातहमा राखेर पुन: घुमुवाकै ‘हैसियत’मा काम लगाएपछि भने उनको नियत पनि खोटो भएको मानिएको छ । बाराको मुसर्वा नाकाबाट तस्करी कार्यमा संलग्न रहेको प्रमाण प्राप्त भएपछि नुवाकोट सरुवा गर्न जिल्ला प्रहरी प्रमुख नरेन्द्र उप्ेरतीले सिफारिस गरेका असइ मोहन राउत अहिरलाई पशुपतिले बाराकै निम्ति घुमुवा बनाएर राखे । रौतहटमा घुमुवा रहेका बदनाम असइ सुरेन्द्र साह तेलीलाई कारबाहीका लागि भनी झिकाएर पुन: रौतहटमै घुमुवाको रूपमा काम गर्ने गरी खटाए । त्यसैगरी अञ्चल प्रहरी कार्यालय पर्साका हवल्दार विनोद साह कलवारलाई कारबाही गर्ने भन्दै झिकाएर उनलाई पनि पर्साकै लागि घुमुवा बनाएर पठाएका छन् । त्यस्तै हवल्दार उमेश चौहान, सञ्जय यादव, हरेन्द्र ठाकुर, सुरेश यादवसहितको घुमुवा टोली बनाएर पशुपतिले तराईको सीमावर्ती क्षेत्रमा खटाएका छन् र उनीहरूको मुख्य काम नै यतिबेला नगद सङ्ग्रह गर्नु रहेको छ ।

यसैबीच पशुपति उपाध्यायले आफ्नो कमाइको स्रोतमा अड्चन बनेका एसपी नरेन्द्र उप्ेरती (बारा) लाई पन्छाउन अर्को प्रपञ्च रचेका छन् । प्राप्त समाचारअनुसार बारा जिल्लाको सीमावर्ती गाउँ मटिअर्वामा वीरगञ्जका तस्करहरूले सुपारी तस्करीका निम्ति गोदाम बनाएर राखेको सूचना पाएपछि एसपी नरेन्द्र उप्ेरतीको कमाण्डमा जिल्ला प्रहरी कार्यालयले यही वैशाख ८ गते छापा मारेको थियो र त्यस क्रममा करोडौँ मूल्यबराबरका सुपारी जफत गरी राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो । मटिअर्वा प्रहरी चौकीका इञ्चार्जसहित घुमुवा प्रहरीहरूसमेत सुपारी तस्करहरूसँगको मिलिभगतमा रहेको पाइएपछि दोषी प्रहरीलाई उचित कानुनी कारबाही गर्ने तयारी जिल्ला प्रहरी कार्यालय बाराले गर्‍यो ।

त्यसरी मटिअर्वाको सुपारी गोदाम बारा प्रहरीले छापा मारेर कब्जामा लिएको खबर पाएपछि मध्यक्षेत्र प्रहरी कार्यालयमा हलचल पैदा भयो । तस्करहरूको तार प्रहरी चौकी इञ्चार्ज र घुमुवा हुँदै डीआईजीपी पशुपति उपाध्यायसम्म पुग्ने भएपछि पशुपतिले स्थानीय चौकीमा कार्यरत सबै प्रहरीलाई हथकडी लगाएर हेटौँडास्थित आफ्नो कार्यालयमा झिकाए र थुने । थुनामा राखिएका प्रहरीलाई यातना दिँदै एसपी नरेन्द्र उप्ेरतीको नाम पोलेमा सबैलाई छोडिदिने प्रलोभन पनि पशुपतिले दिए । तर, निर्दोष एसपीको नाम पोलेर आफू उम्कन कोही पनि तयार भएनन् । त्यसपछि मातहतका कर्मचारी नियन्त्रण गर्न नसकेको र नेतृत्व–क्षमता नदेखिएकोजस्ता आरोप लगाउँदै नरेन्द्रलाई कारबाहीको दायरामा ल्याएर बाराबाट ‘खेद्ने’ योजना पशुपति उपाध्यायले बनाएको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकै अवस्थामा सरुवा भएर मध्यक्षेत्र प्रहरीको कमाण्ड सम्हाल्न पुगेका कारण पशुपतिसँग अन्य प्रहरी अधिकारीहरू डराउने पनि गर्दछन् । तर, उनले यसैलाई आफ्नो ‘स्ट्ेरन्थ’ ठानेका छन् र एसपी नरेन्द्र उप्ेरतीलाई बाराबाट हटाएर उनी घुमुवामार्फत पुन: सुपारी तस्करीलाई निरन्तरता दिन चाहन्छन् भन्ने बुझिएको छ । पशुपति उपाध्यायजस्ता भद्र र सोझा मानिएका उच्च प्रहरी अधिकृतसमेत यसप्रकार गलत धन्दामा संलग्न रहेको पाइएपछि अन्य राम्रा प्रहरी अधिकृतप्रतिको धारणामा समेत नकारात्मक परिवर्तन आउनसक्ने खतरा बढाएको छ ।