के लिएका थिए ऋषिकेशले, के दिएर जाँदै छन् ?

के लिएका थिए ऋषिकेशले, के दिएर जाँदै छन् ?


ऋषिकेश तिवारी

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पदबाट पूर्वसांसद ऋषिकेश तिवारीले राजीनामा दिनुभएपछि उहाँले सम्हाल्दै आउनुभएका जिम्मेवारी कृष्ण पौडेललाई दिने तयारी भएको छ । शैक्षिक व्यवसायमा संलग्न रहेर पनि पार्टीलाई विभिन्न प्रकारले सहयोग पुर्‍याउँदै आएका पौडेललाई मुख्यसचिव बनाउने विषयलाई लिएर कतिपयले असन्तुष्टि भने जनाएका छन् ।

मुख्यसचिवबाट चीनकाजी श्रेष्ठले राजीनामा दिनुभएपछि २०७१ वैशाख २६ गते उक्त पदमा ऋषिकेश तिवारीको चयन भएको थियो । श्रेष्ठभन्दा अघि रामचन्द्र पोखरेल, लक्ष्मणप्रसाद घिमिरे, वसन्त गौतम, धु्रवराम भण्डारी र शोभाकर पराजुलीलगायतले मुख्यसचिवको जिम्मेवारी सम्हालेका थिए । चीनकाजी श्रेष्ठले दुई वर्षअघि जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा ऋषिकेश तिवारीलाई दराजको साँचो, निर्णय–पुस्तिका र दुई करोड रुपैयाँको ब्यालेन्स सुम्पिएका थिए । दुईवर्षे कार्यकाल पूरा भएकै दिन २०७३ वैशाख २६ गते राजीनामा दिएका तिवारीले नयाँ मुख्यसचिवलाई दराजको साँचो र निर्णय–पुस्तिकाको साथमा सात करोड रुपैयाँ, ४५ लाखमा हालै खरिद गरिएको नयाँ स्कार्पियो गाडी, पुस्तकालय र गार्ड क्वार्टरसमेत सुम्पने भएका छन् । तिवारीकै कार्यकालमा कर्मचारीहरूको बढुवा र तलबमान वृद्धि गर्ने कार्य पनि भएको थियो । पार्टी कार्यालयको भुइँतलामा दुई ठूला शौचालयहरूको निर्माण पनि भएको छ ।

नेपाली कांग्रेसभित्र रचनात्मक र सधैँ उत्तिकै सक्रिय मानिएका ऋषिकेश तिवारी राजनीतिलाई उद्यमशीलतासँग अनिवार्य रूपले जोड्नुपर्छ भन्ने मान्यता राख्छन् र उनले ‘सामाजिक उद्यमशीलता’ नामक उपयोगी पुस्तक पनि लेखेका छन् । आगामी दिनहरूमा पनि पार्टी कामसँगै सामाजिक उद्यमशीलतालाई जोडेर अघि बढिरहने योजना तिवारीले बनाएका छन् । सफलतापूर्वक आफ्नो कार्य सम्पादन गरेकोमा ऋषिकेश तिवारीलाई सभापति शेरबहादुर देउवाले हार्दिक धन्यवाद दिनुभएको छ ।