रसुवा नाकामा व्यापक भन्सार छली, पनेरू कमाउँछन् दैनिक एक करोड नेरु

रसुवा नाकामा व्यापक भन्सार छली, पनेरू कमाउँछन् दैनिक एक करोड नेरु


रसुवा नाकामा व्यापक भन्सार छली,
पनेरू कमाउँछन् दैनिक एक करोड नेरु !

rasuwa-

रसुवा नाका भएर चीनबाट नेपाल भित्र्याइने सामग्रीमा व्यापक मात्रामा राजस्व छली हुने गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । प्रौढ र वयस्कहरूले प्रयोग गर्ने सामग्रीहरूलाई ‘बेबी र इन्फेन्ट’का प्रयोग सामग्रीका रूपमा घोषणा गरी राजस्व न्यूनीकरण गर्ने र अन्य सामग्रीहरू पनि न्यूनतम भन्सार दर कायम गरी राजस्वमा ठूलो क्षति पुर्‍याउने गरिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार सामान्य जाँच पास गरी भन्सार क्लियर गर्नुपर्दा प्रतिकन्टेनर रु. एक लाख र ‘बेबी तथा इन्फेन्ट’ घोषणा गरी छोड्नुपर्दा प्रतिकन्टेनर रु. पाँच लाख रुपैयाँ असुल्ने गरिएको छ ।

ज्ञातव्य छ, हाल रसुवा नाका भएर प्रतिदिन तीसदेखि पचास कन्टेनरहरू नेपाल भित्रिने गरेका छन् । यस आधारमा रसुवास्थित भन्सार कार्यालयसम्बद्ध कर्मचारीले प्रतिदिन रु. पचास लाखदेखि एक करोड रुपैयाँसम्म अतिरिक्त कमाइ गर्ने गरेका छन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीसम्म पुग्ने उक्त रकमको वितरण तथा व्यवस्थापनको संयोजन भन्सार प्रमुख केदार पनेरू आफैँले गर्ने गरेको बुझिएको छ । प्रधानमन्त्रीको विशेष संरक्षणमा रहेका केदार पनेरूले राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारी, भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गाना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप बस्नेतलाई समेत प्रभावमा पारी दैनिक एक करोड रुपैयाँसम्म कमाइ गर्ने गरेको समाचार सूत्रहरूको भनाइ छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पपश्चात् तातोपानी नाका बन्द भएपछि चीनबाट आयात हुने रेडिमेड गार्मेन्ट्स, कच्चा पदार्थ, इलेक्ट्रिक तथा एलेक्ट्रोनिक्स सामान र जुत्ता–चप्पललगायतका कतिपय सामग्री रसुवा नाका भएर पनि भित्रिने गरेका छन् । गत वर्षदेखि पूर्ण सञ्चालनमा आएको उक्त नाकामा भन्सार प्रमुखको जिम्मेवारी केदार पनेरूले सम्हाल्दै आएका छन् । पनेरूको मुख्य कर्म नै राजस्व छली बनेको छ र त्यहाँबाट कति र कसरी राजस्व छल्ने कार्य भइरहेको छ भन्ने जानकारी पाउन सम्बन्धित निकायले रसुवा भन्सार कार्यालयमा जाँचपास भएका प्रज्ञापन पत्रको रेकर्ड मात्र मगाएर हेर्दा पनि सजिलै थाहा पाउन सकिन्छ ।

भरतमोहन अधिकारी अर्थमन्त्री रहँदा उनको स्वकीय सचिवका रूपमा काम गर्ने पनेरू डा. रामशरण महत अर्थमन्त्री भएका बेला रसुवा नाकाको भन्सार प्रमुख भई गएका हुन् । पनेरूले दुर्गम जिल्लामा बस्दा बढुवाको नम्बर धेरै आउने भन्दै रसुवा पठाइदिन अनुनयविनय गरेपछि डा. महतले पनेरूको माग पूरा गरिदिएको बताइन्छ । यसअघि विभिन्न भन्सार कार्यालयमा कार्यरत रहँदा सबैभन्दा धेरै कमाइ गर्न सक्ने व्यक्तिको पहिचान बनाउन सफल पनेरूले रसुवा भन्सारमा पुगेपछि कमाइका निम्ति अपनाएको काइदा देखेर स्वयम् पनेरूकी पत्नीसमेत छक्क पर्ने गरेको बुझिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग राजस्व वृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेर राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका निर्मलहरि यति ठूलो मात्रामा राजस्व छली हुँदा पनि मौन रहनुले उनको समेत संलग्नता रहेको आशङ्का गर्न थालिएको छ । व्यवसायीहरूले एक ठाउँको गोदामबाट अर्को ठाउँमा सामान सार्दासमेत बिल–विजक नभएको भनी दु:ख दिने निर्मलहरि दैनिक करोडौँ रुपैयाँबराबरको राजस्व छली हुँदा चुपचाप बस्नुले केदार पनेरूसँग उनको रामै्र ‘उठबस’ भएको देखाएको छ ।