प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप


नेतृ झांक्रीका कारण रोकियो अधिबेशन
jhankriबेल्जियम । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । प्रवासी नेपाली मञ्च बेल्जियमसम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्रलगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजेतिर हलमा प्रहरी प्रवेष गरेको हो ।
स्रोतका अनुसार अधिबेधनमा नेतृत्वका लागि बिनोद न्यौपाने र बोधराज पौडेलले उम्मेदवारी दिएका थिए । सहमतिको प्रयासबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नु पर्नेमा कार्यक्रममा सहभागी हुन आएकी एमाले नेतृ रामकुमारी झांक्रीले निर्वाचन प्रकृया रोकेको आरोप लगाइएको छ ।
अधिकांश सदस्यहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे पनि झांक्रीले निर्वाचन सम्पन्न हुन नदिएको बताइएको छ ।
नेतृत्व चयनका लागि एनआरएनए केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिंखडा, पोर्तुगलका प्रतिनिधि गोविन्द पौडेल र इटालीका प्रतिनिधि सम्मिलित अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्ष मण्डलले पनि निर्वाचन सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि अधिबेशन स्थगित भएको हो । एनआरएन केन्द्रिय प्रतिनिधि श्रेष्ठ समेत पार्टीको निर्वाचन मण्डलमा रहेपछि बेल्जियमस्थित प्रवासी नेपाली मञ्चका कार्यकर्ताहरुले आश्चर्य मानेका छन् ।
निर्वाचन प्रकृयामा जाँदा अध्यक्षका उम्मेदवारमध्य बोधराज पौडेलले जित्ने सम्भावना भएपछि नेपालबाट आएकी नेतृ झांक्री लगायत अध्यक्ष मण्डलका साथीहरु झस्किए, एक नेताले भने, ‘एनडीएफ बेल्जियमलाई आफन्त भर्ती केन्द्र बनाउन हामीले दिएनौं ।’
निर्वाचनमा हार हुने अवस्था देखेपछि अध्यक्षका प्रत्यासी विनोद न्यौपानेका समर्थकहरुले निर्वाचन कार्यक्रममा भांजो हालेका थिए । साथै हलमा केही महिलाहरुलाई उचालेर सहमतिको नाममा सबैलाई धम्काउने प्रयास भएको थियो ।
-धर्मराज