बादल गए पनि पार्टी एकीकरण हुँदैन : गजुरेल

बादल गए पनि पार्टी एकीकरण हुँदैन : गजुरेल


cpg

प्रचण्ड नेतृत्वको एनेकपा माओवादी र वैद्य नेतृत्को नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकीकरण हुने चर्चा जोडतोडले चले पनि तत्काल एकताको सम्भावना नरहेको वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रस्ट्याएका छन् । एकीकृत नेकपा (माओवादी) पार्टीसँग तत्काल पार्र्टी एकता गर्ने सम्भावना नरहेको दाबी गर्दै नेता गजुरेलले आफ्नो पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको दाबी गरे ।

राजधानीमा बिहिबार आयोजित एक साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने– पार्टी एकताका लागि विचार, रणनीति, राजनीति र कार्यविधि मिल्नुपर्छ, तर पार्टी एकताबारे अध्यक्ष मोहन वैद्यसँग अनौपचारिक बैठक भए पनि औपचारिक रूपमा वार्ता समिति समेत गठन भएको छैन ।

गत बुधबार एकीकृत नेकपा (माओवादी) बैठकले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत माओवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको थियो । सो सन्दर्भतर्फ इंगित गर्दै उनले एमाओवादी नेतृत्वले आफ्नो पार्टी फुटाउन खोजेको आरोप पनि लगाए । पार्टीको नीति विपरीत पार्टी फुटाएर गए पनि महासचिव बादललाई कारबाही गर्नेबारे भने कुनै निर्णय नभएको उपाध्यक्ष गजुरेलले बताए ।

उता जतिसक्दो चाँडो पार्टी एकताको पक्षमा रहेका महासचिव थापा समूहले जेठ २ गतेको बैठकमा अध्यक्ष वैद्यसँग अन्तिम पटक छलफल गर्ने भन्दै कुरिरहेको छ । तत्कालका लागि कार्यगत एकता भए पनि दीर्घकालीन रूपमा वामपन्थी दलबीच एकता हुन सक्ने उनको भनाइ छ । सीपीले अब आफ्नो पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने पनि बताए ।