कम्युनिस्ट व्यवस्थाबारे छरिएका भ्रम र यथार्थ
– लक्ष्मीकान्त पौडेल
चीन नेपालको असल छिमेकी हो, उसले गरेको विकास तथा नेपालप्रति दर्शाएको व्यवहारले हामीलाई खुशी नै तुल्याउँछ । ‘कम्युनिस्ट’ नाम जोडिएको चीनजस्तै देशमा उत्तर कोरिया, क्युवा, भियतनाम, लाओससमेत पर्दछन् । सर्वसत्तावादलाई पुजनीय मान्नेहरू वा कम्युनिस्ट व्यवस्था विश्वको सर्वोत्कृट व्यवस्था हो, गरिबको हित गर्ने व्यवस्था हो भन्नेहरूले कम्युनिस्ट देशबारे भ्रम छरेकोमा यस्तो भ्रम चिर्न र जनता सचेत हुन आवश्यक देखिन्छ ।
चीनलगायत कतिपय कम्युनिस्ट नाम गरेका राष्ट्र्र कम्युनिस्ट बनिरहनुमा केही ऐतिहासिक र परिस्थितिजन्य कारणहरू छन् । उदाहरणका लागि उत्तर कोरिया पहिला जापानको उपनिवेशवादी नीतिका कारण र त्यसको उत्तरमा रहेको कम्युनिस्ट सोभियत रुसको सहयोगको कारण कम्युनिस्ट बन्न पुग्यो । दक्षिण कोरिया लोकतान्त्रिक देश बन्यो । तर, यी दुई कोरिया मिलेको जापानलाई नराम्रो लाग्ने र जापानको निम्ति प्रत्युत्पादक. हुनसक्ने कारणले पनि तिनीहरू मिल्न सक्दैनन् भन्ने गरिन्छ । लोकतन्त्रको स्थापना भएपछि यदि अमेरिकाले सोभियत रुसलाई टुक्य्राउने वातावरण नबनाएको भए चीनमा तियानमेन चोकको लोकतान्त्रिक आन्दोलनपछि त्यहाँ लोकतन्त्र आएको हुने थियो र रुस विखण्डित नभएको भए विश्वमा आतङ्कवाद यसरी मौलाउने पनि थिएन भनी कतिपय बुद्धिजीवी तर्क गर्छन् । यस तर्कमा कति सत्यता छ कुन्नि ! तर, चिनियाँहरू अहिले पनि ‘पुर्खा कम्युनिस्ट’ले भावनात्मक रूपमा नभई बन्दुकको भरमा बचाएको कम्युनिस्ट व्यवस्था एवम् राष्ट्र्र आजको नयाँ परिवेशमा ध्यान पुर्याउन सकिएन भने देशको एकता नै खतरामा पर्न सक्छ भन्ने सोची बाध्यतावश लोकतन्त्रको पक्षमा देखिएका छैनन् भन्ने भनाइमा सत्यता हुन पनि सक्छ । नेपालमा समेत अहिले राष्ट्रियताभन्दा जातीयता र क्षेत्रीयता बलियो र सरोकारको विषय भएको तथ्यलाई हामी भुल्न सक्दैनौँ ।
चिनियाँ राष्ट्रिय काङ्ग्रेसको बैठक यही २०१६ को मार्चमा भयो । त्यो सम्मेलनले देशमा भएको व्यापक गरिबी तथा धनी र गरिबबीचको खाडल कम गर्दै जाने निर्णय गरेको छ । यसले चीनमा गरिब अत्यन्त धेरै छन् भन्ने प्रस्ट भएको छ । विश्वमै सबैभन्दा बढी करोडपति चीनमा छन् र अर्बपति पनि सबैभन्दा बढी चीनमै हुने अवस्था छ । यसले के देखाउँछ भने चीनमा धनी प्रसस्त छन् अर्थात् गरिबहरू त्योभन्दा धेरै छन् । यो माक्र्सको फर्मुला नै हो ।
केही वर्ष पहिला एक गरिब किसानले बन्दुक चलाएर करिब २५ जना विद्यार्थीलाई मारेको थियो । चीनमा भएको यो दु:खद् घटनापछि त्यस्तो हुनुको कारण के रहेछ भन्ने सम्बन्धमा पनि समाचार आयो कि ऊजस्तै केही गरिब नेता बनी भ्रष्टाचार गरेर धनी बनेपछि आफ्ना सन्तानलाई बोर्डिङमा पढाउन थालेछन् र उसले भने सरकारी विद्यालयमा पनि बच्चालाई पढाउन धौ–धौ परेछ । यो पीडालाई उसले अमानवीय रूपमा त्यसरी पोख्यो । गरिबीको पीडाको विस्फोटको रूपमा यसलाई हेर्नुपर्दछ । चीनको वातावरण अत्यन्त नराम्रो छ । बेइजिङसमेतमा ५० न्यानो ग्रामभन्दा बढी प्रदूषण छ र यो क्यान्सरका लागि खतरनाक वातावरण हो र काठमाडांै पनि करिब त्यस्तै अवस्थामा छ । चिनियाँहरूको अहिलेको ध्यान भ्रष्टाचारको व्यापकता, वातावरणको प्रदूषणलाई कम गर्ने र गरिबी न्यून गर्नेमा केन्द्रित छ ।
यसले चीनमा भ्रष्टाचार, गरिबीसमेत प्रशस्त भएको प्रस्ट पार्दैन र ? जहाँसम्म विकासको कुरा छ । त्यो चीनमा भएको छ, तर अहिले भारत र चीनको आर्थिक वृद्धिदर बराबर भएकोमा भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । तर, चाहे भारत वा चीन वा अन्य देश, त्यहाँको विकासको अर्थ गरिबको हित नभए समाजवादीको आँखामा राम्रो भन्न सकिँदैन । महामानव बीपीले भन्नुभएको थियो कि गरिबको हित नगर्ने विकास विकास नै होइन, गाउँको हित नगर्ने विकासको कुनै अर्थ छैन । देशचाहिँ कम्युनिस्ट तर गरिबको हितलाई बेवास्ता गरेर भएको विकासलाई के विकास भन्ने ? बरु अमेरिकाजस्ता देशमा त गरिब र बेरोजगारलाई भत्ता दिने गरिएको पाइन्छ । गरिबको हित यस अर्थमा कम्युनिस्ट देशमा भन्दा पश्चिमा देशमा भएन र ?
उत्तर कोरियाले आणविक परीक्षण त गर्दछ, तर त्यो देशको बजेटको ८० प्रतिशतजति चीनको सहयोगमा निर्भर छ । चीनले आफ्नो विदेशी सहयोगको करिब ५० प्रतिशत सहयोग उत्तर कोरियालाई मात्र गर्दछ । त्यहाँ गरिबी, भोकमरीको कारणले वर्षेनी हजारौँले ज्यान गुमाउँछन् । केही वर्ष पहिला भएको खडेरीमा २० लाखभन्दा बढी मानिस मरेको अनुमान छ । लोकतन्त्रमा भने त्यस्तो हुँदैन । सञ्चार स्वतन्त्रता र अरू देशको पहुँचले गर्दा एक देशलाई परेको पीडामा जनस्तरबाट समेत विदेशीले सहयोग गर्दछन् । सिरियामा ठूलो र लामो गृहयुद्ध भएर पनि करिब तीन लाख मानिस मरेका छन् । तिनमा खाद्यान्नको अभावले केही मात्र मरेका छन् र सबैजसो हतियारले मारिएका छन् ।
लोकतन्त्र वा खुलापन भएको भए खडेरीको कारणले उत्तर कोरियामा त्यो मात्रामा मानिस मर्ने थिएनन् । अहिले पनि उत्तर कोरियायी कम्युनिस्ट सरकार रकेटको विकास गर्दै छिमेकीलाई धाक दिएर आवश्यक सामान जुटाउने गर्दछ । मधेसमा उखान छ कि भीख माग्ने धाक–धम्की देखाएर ! त्यस्तै कार्य उत्तर कोरियाबाट भएको छ । विरोध गर्नेलाई उपप्रधानमन्त्री ओहोदाका भए पनि सिकारी कुकुरले टोकाएर मारिन्छ वा तोपको मुखमा बाँधी पड्काएर मारिन्छ । के यो मानवीय हो ? किन सर्वसत्तावादी व्यवस्थाभित्र लुकेका अन्यायलाई विचार नगरी बाहिर प्रक्षेपण भएका केही कुरालाई आधार बनाएर नेपाली गरिब जनतालाई मूर्ख बनाउन खोजिन्छ ?
अमेरिकालाई जित्ने भियतनाम अहिले अमेरिकी मोडलको अनुकरण गरेर विकासमा अगाडि बढिरहेको छ । त्यो जितको के अर्थ ? के नाम कम्युनिस्ट राखेपछि गरिबलाई जति अन्याय गरे पनि हुन्छ ? त्यसैले लोकतन्त्र र बहुलवाद यस्तो व्यवस्था हो जसमा नेताहरूले अन्याय गरेमा पनि जनताले देख्न र विरोध गर्न पाउँछन् । कमसेकम जनता सचेत भएमा डराएर बस्नुपर्दैन बरु सचेत भएर स्वाभिमानका साथ विकल्प खोज्न सक्दछन् । विकल्प खोज्ने कार्य सर्वसत्तावादी देशमा भन्दा लोकतान्त्रिक व्यवस्थामा सजिलो हुन्छ । कमसेकम यो जनताको पक्षमा रहेको बलियो र सर्वसत्तावादी देशमा भन्दा विकल्प दिने वा खोज्ने राम्रो आधार होइन र ?
प्रतिक्रिया