‘ओलीलाई जनताले गुन्द्रुक बनाउने छन्’ : अशोक राई

‘ओलीलाई जनताले गुन्द्रुक बनाउने छन्’ : अशोक राई


Ashok Rai

पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताए । जेष्ठ २ गतेको संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । पहिचान गुन्द्रुकभन्दा पनि काम नलाग्ने विषय भएको कटाक्ष गर्दै आएका प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता राईले प्रतिप्रश्न गर्दै भने, ‘पहिचान र गुन्द्रकको भेद छुट्याउन नसक्ने प्रधानमन्त्रीले देशको समस्या कसरी पहिचान गर्न सक्छन् ? कसरी समाधानको बाटो अबलम्बन गर्छन् भनेर अपेक्षा गर्ने ?’ पहिचान र अधिकारका लागि मधेसी, आदिवासी जनजाति, मुस्लिम, खस, शिल्पी (दलित), महिला, उत्पीडित क्षेत्रका जनता सयौं वर्ष लड्न मानसिक रुपले तयार भएको राईले बताए ।

सिंहदरबार घेराउ सोमबार र मंगलबार पनि हुने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका संघीय गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार पनि जारी रहने जनाएको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराऊ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । त्यसपछि सिंहदरबार घेराऊ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्ने बारे सोमबार साँझ बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ । सिंहदरबार घेराऊको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समिक्षा गरेको छ । गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलनलाई शान्तिपूर्ण ढंगले अझ उचाइमा पु¥याउने समेत निर्णय गरेको छ ।

सिंहदरबार घेराउ 2

यसैबीच २९ दल आवद्ध संघीय गठबन्धनले गरेको सिंहदरवार घेराउ कार्यक्रम समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)ले जनाएको छ । लाहुर्निपले सिंहदरबार घेराउ कार्यक्रमको मानवअधिकार अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै आन्दोलनकारीहरु संयमित बनेको भए तापनि राज्यपक्ष अनुदार बनेको घटना क्रमबाट देखिएको निष्कर्ष निकालेको छ । लाहुर्निपको अनुगमन प्रतिवेदनअनुसार गठबन्धनको कार्यक्रमलाई अवरोध पु¥याउन ठाउँ–ठाउँमा सुरक्षा चेकजाँच कडा पारिएको थियो । अपरान्ह आन्दोलनकारी र प्रहरी बीच माइतीघरमा सामान्य झडपको स्थिति देखिएको भए तापनि समग्रमा प्रहरी र आन्दोलनकारीहरु संयमित देखिन्थे । सुन्दर तेयुङ लिम्बूका अनुसार सो झडपमा हाङवीर थुलुङ, सोनाम राई र दनवीर यादव सामान्य घाइते भएका थिए । आन्दोलनकारीहरु नाचगानसहित घेराउमा संलग्न थिए । आन्दोलनमा संलग्न हुन आएका मधेशी दलका कार्यकर्ताहरुलाई प्रहरीले नागढुंगामा अवरोध पु¥याएको थियो । आन्दोलनमा सहभागी हुन आएका सहभागी चढेको बसहरुलाई ठाउँ ठाउँमा रोकेको संघीय समाजवादी फोरम, नेपालले जनाएको छ ।

मातृका यादवको समर्थन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २९ दलीय संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा मातृका यादव नेतृत्वको नेकपा (माओवादी)ले समर्थन जनाएको छ । नेकपा (माओवादी)का संयोजक यादवले प्रेस विज्ञप्ति जारी गरी मण्डले राष्ट्रवादको पृष्ठपोषक सरकारले बर्बर दमन गर्ने तयारी गरेको आभाष पनि भएको जनाएका छन् । उनले यस जनताको आन्दोलनमा समर्थन गर्दै कुनै पनि प्रकारको दमन नगर्न नेपाल सरकारसँग अपीलसमेत गरेका छन् । यसैगरी, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका सह–संयोजक गोपाल ठाकुरले पनि विज्ञप्ति जारी गरी समर्थन जनाउँदै आन्दोलनमा दमन नगर्न सरकारसँग अपिल गरेका हुन् ।