सभापति देउवाले देखे प्रजातन्त्रमाथि खतराका सङ्केत

सभापति देउवाले देखे प्रजातन्त्रमाथि खतराका सङ्केत


Purna Mishra

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष ः चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले दलका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको उल्लेख गर्दै संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा कांग्रेस लाग्ने बताउनुभयो । बिजुलीको अभावमा जीवन गुजार्न बाध्य जनतालाई दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिदिने भ्रम फैलाएर सरकारले झुटो आश्वासन बाँडेको सभापति देउवाको आरोप थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बौद्धिक समुदायले कुनै पनि विषयको वैज्ञानिक विश्लेषणका आधारमा समर्थन वा विरोध गर्नुपर्ने बताउनुभयो । सरकारले राजदूत फिर्ता गर्नु सामान्य प्रक्रिया भए पनि जुन विषयलाई आधार बनाएर भारतका लागि नेपाली राजदूतलाई फिर्ता गरिएको छ, यसले छिमेकीसँगको सम्बन्धमा असर पर्नसक्छ भन्ने उहाँको तर्क थियो ।

यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको परिवर्तन बाहेक केही ठोस काम हुन नसकेको बताउनुभयो भने समाजका अध्यक्ष डा केदारनरसिंह केसीले मानवअधिकारको संरक्षण र विधिको शासन स्थापनामा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातान्त्रिक संस्कृति र संस्कार जोगाउन समाज लागिपर्ने बताउनुभयो ।