सिंहदरबार घेराउ जारी

सिंहदरबार घेराउ जारी


Madhesi 3

संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम दोस्रो दिन पनि जारी छ । सोमबार बिहान १० बजेदेखि सिंहदरबारको हनुमानस्थान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले नाराबाजी गर्दै सडक अवरुद्ध गरी धर्ना दिएका छन् ।

आन्दोलनकारी सडक अवरुद्ध गरी धर्नामा बस्दा सिंहदरबार क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य छन् । आन्दोलनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । धर्नामा बसेका आन्दोलनकारी ‘प्रतिगामी संविधान मान्दैनौँ’, ‘पहिचानसहितको सङ्घीयता छाड्दैनौँ’, ‘आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर’ लगायतका नारा लगाइरहेका छन् । सिंहदरबार घेराउ कार्यक्रम साँझ ५ बजेसम्म रहने गठबन्धनले जनाएको छ । माइतीघरमा प्रहरीसँग भएको सामान्य झडपमा परी आफ्ना तीन कार्यकर्ता घाइते भएको र उनीहरुको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको पनि गठबन्धनले जानकारी दिएको छ ।

सरकारले आन्दोलनकारीलाई आन्दोलन तथा विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्दै प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई हदैसम्मको कारबाही हुने जनाएको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी संविधानमा व्यवस्था भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरु आन्दोलनरत छन् ।

सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका मधेस केन्द्रित दलहरुले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भई जनताको दैनिकीमा कठिनाइ भएको गुनासो आएपछि सिंहदरबार केन्द्रित आन्दोलन गरेका हुन् । धर्नामा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

Madhesi