भारत सरकारको सहयोगमा छात्रावास भवन

भारत सरकारको सहयोगमा छात्रावास भवन


pr pic 5

मित्रराष्ट्र भारतको सहयोगमा नवनिर्मित मदन–आश्रित स्मारक प्राविधिक विद्यालयको छात्रवास भवनको मदन–आश्रित प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल र नेपालका लागि भारतीय राजदूत रनजित रायले संयुक्त रूपमा उद्घाटन गरेका छन् । काठमाडौंको गोठाटारस्थित सो छात्रावास भवन निर्माणार्थ भारत सरकारले चार करोड ५६ लाख सहयोग प्रदान गरेको थियो । नवनिर्मित तीनतले छात्रवास भवनमा सुविधासम्पन्न चौबीस कोठा छन् भने ठूलो बैठक हल, छात्र र छात्राका निम्ति प्रत्येक तलामा अलग–अलग रेस्ट रुमहरू रहेका छन् । भवनका लागि आवश्यक फर्निचरहरू पनि भारत सरकारकै सहयोगमा उपलब्ध गराइएको छ ।

बहुचर्चित दासढुङ्गा सडक दुर्घटनामा २३ वर्षअघि निधन भएका मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा स्थापना गरिएको मदन–आश्रित प्रतिष्ठान नाफारहित सामाजिक संस्था हो । गरिब, जेहेनदार तथा पिछडिएका छात्रछात्राको हितमा संस्थाले विभिन्न काम गर्दै आएको छ भने मदन–आश्रित स्मारक प्राविधिक शिक्षालयले सीटीईभीटीसँग मिलेर युवा विद्यार्थीलाई विभिन्न व्यावसायिक सीप तथा प्रशिक्षण दिँदै आएको छ । यसले युवालाई आत्मनिर्भर तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

काठमाडौंमा सम्पन्न भएका विभिन्न चौधवटा परियोजनाका लागि भारत सरकारले तीन अर्ब ६३ करोडभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ । यस्तै तीन अर्ब चालीस करोडका अन्य आठ परियोजना कार्यान्वयनकै चरणमा रहेका छन् भने ४१ वटा एम्बुलेन्स, तीनवटा विशेष मेडिकल भ्यान, ३७ वटा स्कुलबस पनि काठमाडौंका विभिन्न सङ्घ–संस्थामार्फत भारत सरकारले उपलब्ध गराएको छ ।

भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजी (किट) विश्वविद्यालयले नेपाली गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । सो विश्वविद्यालयमा पढेका नेपाली पूर्वविद्यार्थीको संस्था (अल्मुनाई)ले आयोजना गरेको कार्यक्रममा विश्वविद्यालयका संस्थापक प्राडा अच्युता समन्ताले अभिभावकविहीन र जेहेन्दार नेपाली विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिइने घोषणा गर्नुभयो । सो विश्वविद्यालयबाट दुई सय ५० नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् ।

सन् १९९२ मा स्थापित तथा भारतको मानव स्रोतसाधन मन्त्रालयबाट ‘क’ श्रेणीमा सूचीकृत सो विश्वविद्यालयमा २२ मुलुकका गरी करिब २७ हजार विद्यार्थी अध्ययनरत छन् । एल्मुनाईद्वारा आयोजित कार्यक्रममा पूर्वविद्यार्थी आशिष भण्डारीले सो विश्वविद्यालयमा उपयुक्त वातावरण रहेको र आफू रहँदा कुनै सुरक्षा–चुनौती वा समस्या भोग्नु नपरेको अनुभव सुनाए भने स्वामी आनन्द अरुणले पूर्वविद्यार्थीलाई आगामी जीवनको सफल भविष्यको कामना गर्नुभयो ।