
– ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य
लाग्यो साल नयाँ त्रिहत्तर नयाँ केही दिँदै सान्त्वना
आयो देश बनाउने मन भई सङ्कल्प प्रस्तावना
रातो घाम बिहानको क्षितिजमा देखापर्यो रक्तिम
वर्षा–बादल फैलिँदा गगनमा धर्ती बन्यो स्वर्णिम ।।१।।
फक्रे फूल नयाँ वसन्त ऋतुमा, पग्ली झरे टाकुरा
उम्दो बैंस लिएर वृक्ष कतिले हाले नयाँ आँकुरा
धर्तीमा मधुमास उत्सव भयो वैशाख यो आउँदा
हाँसे स्वर्ण हिमाल झल्मल बल्यो झुल्को नयाँ पाउँदा ।।२।।
भागे दूर दशा थिए विगतका काला, नराम्रा कुरा
जागे हर्षविभोरता सँगसँगै त्यागी पुराना व्यथा
केही गर्न सकौँ भनेर दुनियाँ बुन्दै रहे योजना
राम्रो पार्छु भविष्य उज्ज्वल भनी गर्दै गए कल्पना ।।३।।
त्यो भूकम्प सहेर दु:खसहितै खेप्तै थिए कम्पन
नाकाबन्द भयो उसै बखतमा गिर्दै गयो जीवन
चर्केका घरभित्र, पाल नहुँदा बस्थे निराशा लिई
जीर्णोद्धार भएन जो घरहरू भत्के पुराना भई ।।४।।
बढ्दै थ्यो महँगी, अभाव घरमा कालो बजारीसँगै
फैल्यो दण्डविहीनता विगतमा बिर्सी नसक्ना हुँदै
आपैँm नै सरकार ढल्पल भई झण्डै गिरेको थियो
ऐले राहत पाउँदा मुलुकमा सङ्कल्प दोहोरियो ।।५।।
कस्तो साल रह्यो बहत्तर भने आधा नराम्रो थियो
आएको नव संविधान पनि ता लागू नभै थन्कियो
छैनन् कानुन, ऐन वा नियम नै को गर्छ कार्यान्वित ?
इच्छा जागृतको त्रिहत्तर बनोस् नेपाल संरक्षित ।।६।।
सिङ्गो राष्ट्र पहाडदेखि तलको यौटै तराई बनोस्
हाम्रो गर्व हिमाल, बुद्ध, शिव हुन्— को धारणा पूर्ण होस्
खेल्दै धर्म अनेक संस्कृति फुलून् नेपाल झण्डामुनि
भाषा उठ्न सकोस् विकास गतिमा सम्बद्ध आपैँm बनी ।।७।।
हाम्रो भूमि अझै समुज्ज्वल बनी, वर्षा चलोस् शान्तिको
स्वप्ना वीर सहिद वा रगतको साकार होस् क्रान्तिको
हामी वीर तथा सुसंस्कृत बनौँ संसारको माझमा
यो पूर्वीय विचारपश्चिमभरि छानो बनोस् खासमा ।।८।।
बिर्सी भेद, विभेद वा कलुषता फाली गरौँ एकता
हामीबाट बनोस् विशाल नमुना प्रारम्भ सङ्घीयता
हाम्रा चिन्तन, सिर्जना जगत्कै साझा बनून् सम्पत्ति
राम्रो होस्, शुभ होस् त्रिहत्तर भनी मैले गरेँ आरती ।।९।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया