नेपाली सेनाले बलिउड नायिकाको खातिरदारी गरेपछि…

नेपाली सेनाले बलिउड नायिकाको खातिरदारी गरेपछि…


sonkchhi-in-nepal-

भूकम्पपीडितको सहयोगार्थ सैनिक श्रीमती सङ्घद्वारा आयोजित मनोरञ्जनात्मक कार्यक्रम ‘अमरपक्षी’मा पर्फम गर्न नेपाल आएका दुई बलिउड नायिकाका कारण यतिबेला नेपाली सेनालाई विवादित तुल्याउने उपक्रम चलेको छ । कलिउड नायिकालाई विमानस्थलमा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै उपस्थित भएपछि सेनाले आफ्नो औकात र कर्तव्य नबुझेर आफ्नै अवमूल्यन गरेको, गरिमा घटाएकोजस्ता टीका–टिप्पणी गरिएका छन् भने मिडियाले पनि यस मामलालाई निकै महत्त्व दिएर समाचार प्रकाशन गरेको छ । त्यसमाथि नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमालले समेत बलिउड नायिकालाई त्यो स्तरको आतिथ्यता प्रदान गरेबाट सेनाप्रतिको आफ्नो धारणा नै परिवर्तन भएको प्रतिक्रिया दिएपछि उनको धारणाप्रति ‘हो..मा..हो’ मिलाउनेहरूको कमी देखिएन ।

अब प्रश्न उठ्छ, ‘के आफँैले आयोजना गरेको कार्यक्रममा निम्त्याइएका कलाकारलाई खातिरदारी दर्शाएर नेपाली सेनाले गल्ती गरेकै हो त ?’ यस प्रश्नको समर्थन र विरोधमा विभिन्न तर्क–वितर्क चल्न सक्छ । तर, स्वयम् नेपाली सेनाले चाहिँ ‘आमन्त्रित व्यक्तिको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर अरू सुरक्षा निकायसँग समन्वयमा विमानस्थलको सुरक्षा चासोमा असर नगर्ने गरी त्यहाँ तैनाथ अधिकृतबाट अवलोकन र उपस्थित हुने प्रचलन रहिआएको’ भन्दै आफ्नो कदमको बचाउ गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमार्फत नेपाली सेनाले भनेको छ, ‘सैनिक श्रीमती सङ्घद्वारा आयोजना गरिएको ‘अमरपक्षी’ कार्यक्रममा भाग लिन आएका भारतीय कलाकार सोनक्षी सिन्हा र मलाइका अरोरालाई स्वागतका लागि सेनाको उच्च तहको अधिकृत किन भन्ने समाचार प्रकाशित भएपछि त्यस विषयमा टीका–टिप्पणी हँुदै आएको थियो । आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनका लागि जाने सैनिक व्यक्तिले सैनिक पोसाक प्रयोग गर्नु स्वाभाविक नै हो । भूपू सैनिक, बहालवाल, आश्रित परिवार एवम् दैवी विपत्मा परेको सर्वसाधारणको हितको खातिर टुँडिखेलमा आयोजना गरिएको ‘अमरपक्षी’मा सहभागी कलाकार, दर्शकको सुविधा, सहजता र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत अरू सुरक्षा निकायको समन्वयमा सेनाले सहयोग प्रदान गरेको हो । ‘अमरपक्षी’ कार्यक्रममा सहभागी हुन आएका कलाकारको स्वागतका लागि भने सैनिक श्रीमती सङ्घका पदाधिकारी, व्यवस्थापकका प्रतिनिधि नै उपस्थित भएको स्पष्ट पार्न चाहन्छौँ ।’

sonakshi-and-malaika-