फेरि शुरु भयो ‘पूर्व श्री ५’ को दौडाहा

फेरि शुरु भयो ‘पूर्व श्री ५’ को दौडाहा


Former  King

हिन्दू सम्राटका रूपमा गरिएको निमन्त्रणा स्वीकार गरेर भारत नगए पनि पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र झापा भने जाने हुनुभएको छ । भारत मध्यप्रदेशको उज्जनमा भइरहेको महाकुम्भमा हिन्दू सम्राट भनी प्रमुख अतिथिका रूपमा पूर्व श्री ५ लाई निम्ता आएको थियो । भारत तथा नेपालका हिन्दूधर्मसँग सम्बन्धित सङ्घसंस्थाको तर्फबाट प्राप्त निमन्त्रणमा महाकुम्भमा प्रमुख आतिथ्य ग्रहण गरिदिन आग्रह गर्दै जगत गुरुहरूसँग भेटघाटबारे उल्लेख गरिएको थियो । आमन्त्रणकर्ताले उज्जनमा नेपाल नरेश आउने भनेर पर्चा पम्प्लेटसमेत बाँडेका थिए । तर, पूर्व श्री ५ ज्ञानेन्द्र कुम्भमा नगई झापा जाने कार्यक्रम तय भएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार, आगामी जेठ ७ गते शुक्रबार उहाँ झापाको दमक प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दमकको चिया बगानमा करिब तीन हप्ता बस्दा उहाँले पूर्वाञ्चलका विभिन्न मठमन्दिरको दर्शन तथा जनस्तरीय कार्यक्रममा भाग लिने बताइएको छ । दमकमा राजपरिवारको पुस्तौनी निजी चिया बगान छ । पूर्वराजा ज्ञानेन्द्रका काका हिमालय वीरविक्रम शाहदेवको नाममा रहेको हिमालय चिया बगान राजपरिवारको पुस्तौनी सम्पत्ति हो । पूर्वराजा बेलाबेलामा चिया बगानमा गएर बस्ने गर्नुभएको छ । पूर्वराजाको साथमा पूर्वबडामहारानी रहनुहुने बुझिएको छ ।

यसअघि राजपरिवार गत हप्ता नुवाकोट जाँदा जनस्तरबाट भव्य स्वागत भएको थियो । बालबालिकादेखि युवा हुँदै वृद्धवृद्धासम्म पूर्व श्री ५ को वरिपरि झुम्मिएका थिए । कतिले राजासँग राजनीतिक बेथितिको कुरा गरेका थिए भने कतिले सामान्य हालचाल बताएका थिए । नुवाकोटमा लागेको विशाल जनभीडको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । नुवाकोटमा रहेको भैरवी मन्दिरको दर्शन गर्ने क्रममा पूर्वराजपरिवार नुवाकोट पुगेको थियो । बजार र सडक छेउछाउका मानिसले हात जोडेर फूलगुच्छासहित उहाँहरूको स्वागत गरेका थिए । बट्टार र सदरमुकामवरिपरिका मानिसले देखभेट गर्न पाए पनि गाउँका मानिसले आफूहरूले राजपरिवार आउने कुराको जानकारी नपाएको भन्दै चित्त दुखाएको बताइन्छ । राजपरिवार फर्किएपछि स्थानीयको प्रतिक्रिया थियो, ‘राजनीतिकर्मीहरू आउँदा भाषण मात्रै गरेर जान्छन, फुर्ती पनि धेरै हुन्छ । उहाँहरू साधारण रूपमा आउनुभो, अभिभावकझैँ के छ, कसो छ सोध्नुभो ।’ प्राप्त समाचारअनुसार झापामा रहँदा उहाँले विभिन्न देवी–देवस्थलहरूको दर्शन गर्नुका साथै जनतासँगको सम्पर्कमा पनि जानुहुनेछ ।