अब गाई सबैको बन्ने, कमल थापाको मात्र नहुने

अब गाई सबैको बन्ने, कमल थापाको मात्र नहुने


Cow-Sketch

निर्वाचन आयोगले अबदेखि राष्ट्रिय प्रतीकहरूलाई राजनीतिक दलहरूको निर्वाचन चिह्नका रूपमा प्रयोग नगर्ने समाचार घटना र विचारलाई प्राप्त भएको छ । संविधानमा उल्लेख भएबमोजिम राष्ट्रिय प्रतीकहरू दलको चुनाव चिह्नका रूपमा प्रयोग गर्नु उपयुक्त नहुने र त्यसले विवादसमेत जन्मन सक्ने भएकोले प्रतीक चिह्नलाई अन्य प्रयोजनका लागि प्रयोग हुन नदिने निष्कर्षमा आयोग पुगेको हो । संविधानको भाग ‘१’ धारा ‘९’ को दफा ‘३’ मा ‘नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ’ भनी लेखिएको छ । त्यसैले आयोगले अब हुने कुनै पनि स्तरको निर्वाचनमा डाँफे, लालीगुराँस, गाई र सिम्रिकलाई चुनाव चिह्नका रूपमा अङ्कित र प्रयोग नगर्ने भएको छ ।

आयोगको यस्तो निर्णयको सीधा असर कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पर्ने देखिएको छ । हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनालाई मुख्य एजेण्डा बनाएर मैदानमा आएको राप्रपा नेपालले गाई चिह्न पाउँदा त्यसले मतदातामा निकै राम्रो प्रभाव पारेको थियो । धर्मनिरपेक्षता र गणतन्त्र स्थापनामा मुख्य भूमिका निर्वाह गर्ने वामपन्थी कम्युनिस्ट दलहरूसँग मिलेर सरकारमा संलग्न भई धर्मनिरपेक्षता र गणतन्त्र सुनिश्चित गर्ने संविधान रक्षाको निम्ति कमल थापा सक्रिय भएपछि उनले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा छोडेको ठानिएको छ । यसरी कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा छोड्नु र निर्वाचन आयोगले राष्ट्रिय प्रतीक चिह्नलाई चुनावचिह्नको रूपमा प्रयोग गर्न नदिने नीति लिनुलाई एउटा रोचक संयोग मानिएको छ ।