शुरु भयो अर्कै खेल, हिस्स पर्दै प्रचण्ड

शुरु भयो अर्कै खेल, हिस्स पर्दै प्रचण्ड


Prachanda

प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्थानीय निकायको निर्वाचन सम्पन्न नगराएसम्म पद त्याग नगर्ने सोच बनाउनुभएको छ । तर, एमाओवादी भने बजेट पारित भएपछि आगामी साउन १ गते नै ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छन् भन्नेमा विश्वस्त देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास सूत्रले जनाएअनुसार केही दिनअघि कांग्रेससँग मिलेर प्रचण्डले आफूलाई विस्थापित गर्न प्रयास गरेको घटनाले ओलीलाई स्तब्ध र दु:खी तुल्याएको छ । प्रचण्डले जसलाई जतिबेला पनि धोखा दिन सक्छन्, उनी कसैका निम्ति पनि विश्वासयोग्य छैनन् भन्ने इम्प्रेसन ओलीलाई परेको छ र सार्वजनिक रूपमा प्रकट गर्न नसके पनि उनले आफ्ना निकटस्थहरूसँग प्रचण्डको ‘कुरा काट्न’ थालेका छन् । त्यसैले बजेट पारित भइसकेपछि पनि ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद सजिलै हस्तान्तरण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । ओली नेतृत्वको वर्तमान सरकारले बजेट पेस गर्ने र उक्त बजेट पारित हुने निश्चित भए पनि बजेटपछि प्रचण्ड प्रधानमन्त्री बन्नेचाहिँ अनिश्चित भएको छ ।

उता नेपाली कांग्रेसलाई पनि धोखा दिएका कारण प्रचण्डलाई सरकारको नेतृत्व दिन सभापति शेरबहादुर देउवा सहमत हुने सम्भावना ज्यादै न्यून मात्र रहेको छ । अब फेरि प्रचण्डसँग कुनै विषयमा संवाद र सहमति बनाउन देउवा सजिलै तयार हुने स्थिति देखिएको छैन । प्रचण्डलाई नेतृत्व दिएर नयाँ गठबन्धनको सरकार गठनका निम्ति पहल नगर्न देउवामाथि दबाब परिरहेको छ । स्वयम् देउवा पनि प्रचण्डलाई सरकारको नेतृत्व दिने पक्षमा नरहेको बुझिन्छ । यदि एमाओवादीले कांग्रेससँग सत्ता गठबन्धनको प्रस्ताव पुन: अघि सार्‍यो भने कांग्रेस त्यस्तो प्रस्तावप्रति सकारात्मक हुने सम्भावना त छ, तर एमाओवादीलाई नेतृत्व दिएर सरकार बनाउने सोच कांग्रेसले त्यागिसकेको हुनाले कांग्रेस नेतृत्वलाई स्वीकार गर्न एमाओवादी तयार भएको अवस्थामा मात्रै नयाँ गठबन्धन बन्न सम्भव छ । एमालेले सस्तो लोकप्रियताका निम्ति राष्ट्रिय अर्थतन्त्रलाई दूरगामी असर पार्ने किसिमको बजेट प्रस्तुत गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर भए पनि बजेट प्रस्तुत गर्नुअघि खड्गप्रसाद ओलीलाई विस्थापित गर्ने सोच कांग्रेस नेतृत्वले बनाएको थियो । र, यसैबीच प्रचण्ड पनि नयाँ गठबन्धनको नेतृत्व गर्न तयार भएकोले सभापति देउवा त्यसप्रति सकारात्मक भएका थिए । एमालेले बजेट प्रस्तुत गर्ने भएपछि कांग्रेस अब तत्कालै सरकार परिवर्तनका निम्ति विशेष पहल गर्ने पक्षमा देखिएको छैन । र, एमाओवादी तयार भए पनि उसलाई नेतृत्व सुम्पिएर ओलीलाई विस्थापित गर्ने पक्षमा त कांग्रेस छँदै छैन ।

बजेट पारित भइसकेपछि खड्गप्रसाद ओलीले नेपाली कांग्रेससँग सम्बन्ध सुधारेर अघि बढ्न प्रयास गर्ने सम्भावना छ । कांग्रेस आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन सहमत भएमा निर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार निर्माण गर्न ओली तयार हुनसक्ने सङ्केतहरू देखिएका छन् ।

बजेट पारित भइसकेपछि खड्गप्रसाद ओलीले नेपाली कांग्रेससँग सम्बन्ध सुधारेर अघि बढ्न प्रयास गर्ने सम्भावना छ । कांग्रेस आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन सहमत भएमा निर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार निर्माण गर्न ओली तयार हुनसक्ने सङ्केतहरू देखिएका छन् ।
स्थानीय निर्वाचन आफ्नो नेतृत्वमा गराउन देउवा सहमत भए आगामी संसदीय निर्वाचन देउवाको नेतृत्वमा गराउन ओली सहमत हुने बालुवाटारनिकट सूत्रको भनाइ छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख दुई राजनीतिक दलमध्ये एउटाले सरकार र अर्कोले प्रतिपक्षको नेतृत्व लिनुपर्छ भन्ने सैद्धान्तिक अडानमा रहेको कारण एमालेसँग गठबन्धनको सरकार निर्माण गर्न सहमत हुनेमा शङ्का छ । चुनावी सरकार भएका कारणले कदाचित देउवा सहमत भइहालेछन् भने पनि ओलीले प्रचण्डलाई झैँ देउवालाई समेत ‘उल्लू’ बनाउने सम्भावनाप्रति कांग्रेस सचेत रहने निश्चित छ ।

यसरी सत्ताको खेल राजनीतिको उच्च तहमा तर भित्रभित्रै चलिरहँदा देशमा बढ्दो कम्युनिस्ट गतिविधिप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू चिन्तित र सचेत बनेका छन् । मधेसी र जनजातिका नाममा राजधानीकेन्द्रित आन्दोलन सुरु हुनुले पनि अन्तर्राष्ट्रिय असन्तुष्टि झल्काएको महसुस गरिँदै छ । ओली नेतृत्वको वर्तमान सरकारलाई संसद्भित्रबाट विस्थापित गर्न नसकिने ठहर भएको अवस्थामा संसद्बाहिरबाट भए पनि वर्तमान सरकार र सत्ताको बिदाइ गरी नयाँ राजनीतिक परिस्थिति निर्माण गरिनसक्ने सम्भावना बढेर गएको छ । खड्गप्रसाद ओली आफ्नो सत्ता र सरकार रक्षा र निरन्तरताको निम्ति बेग्लै खेल खेल्ने तयारीमा रहँदा ओली सरकारसँगै अन्य धेरै कुराको बिदाइका निम्ति भित्रभित्रै नयाँ खेल शुरु भएका छन् । ओलीले आफ्नो सरकार बचाउन खोज्दा देशबाट लोकतन्त्र नै विस्थापित हुने अवस्था पैदा भएमा आश्चर्य नहुने भएको छ ।