नेपाल आइस हक्की सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता

नेपाल आइस हक्की सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता


ice

नेपाल आइस हक्की सङ्घलाई अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घ (आईआईएचएफ)ले सदस्यता प्रदान गरेको छ । गत साता एसियाको मस्कोमा सम्पन्न वार्षिक कङ्ग्रेसमा नेपाललाई सदस्यता प्रदान गरिएको हो । उक्त कुराको जानकारी कङ्ग्रेसमा सहभागी नेपाल आइस हक्की सङ्घका अध्यक्ष लोकबहादुर शाहीले गराएका हुन् । सो अवसरमा नेपालसँगै इन्डोनिसिया र फिलिफिन्सलाई पनि आईआईएचएफले सदस्यता प्रदान गरेको थियो । एसियाका तीन राष्ट्रलाई आबद्धता प्रदान गरेपछि अहिले महासङ्घको सदस्य राष्ट्र ७७ वटा पुगेका छन् ।

नेपाल आइस हक्की सङ्घ २०७१ सालमा राष्ट्रिय खेलकुद परिषद्मा १ सय ४२औँ राष्ट्रिय सङ्घको रूपमा दर्ता भएको थियो । त्यसपछि अन्तराष्ट्रिय मान्यताका लागि निकै दौडधुप गरेको सङ्घलाई केही महिना पहिले स्वीट्जरल्यान्डमा सम्पन्न महासङ्घको बैठकले मस्कोको कङ्ग्रेसमा सदस्य प्रदान गर्ने निर्णय गरेको थियो । स्वीट्जरल्यान्डमा सम्पन्न उक्त बैठकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र सङ्घका अध्यक्ष लोकबहादुर शाहीको उपस्थिति रहेको थियो । सो बैठकमा सदस्यसचिव विष्टले नेपालमा आइस हक्की खेलको विकासका लागि राखेपले जग्गा उपलब्ध गराउन लागेको पत्रसहित महासङ्घका अध्यक्ष रेन फासेललाई जानकारी गराएका थिए । सोही निर्णयअनुरूप मस्को कङ्ग्रेसमा अन्तर्राष्ट्रिय आइस हक्की सङ्घका अध्यक्ष रेन फासेलले नेपाललाई पूर्ण सदस्यताको सर्टिफिकेट प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घले नेपाल आइस हक्की सङ्घलाई आबद्धता प्रदान गरेसँगै अहिले नेपालमा आइस हक्कीको विकास र विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चर्चा चलेको छ । मस्को कङ्ग्रेसमा सङ्घका अध्यक्ष शाहीले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा काठमाडौंमा आइस रिंक स्थापना गर्न लागेको जानकारी गराएका थिए । नेपाललाई यसअघि पनि महासङ्घले आइस रिंक निर्माणलगायतका विषयमा सहयोग गर्ने वचन दिइसकेको छ । सङ्घलाई जग्गा प्रदान हुनासाथ महासङ्घको टेक्निकल टोली आइस रिंकको निर्माणका लागि नेपाल आउने कुरा शाहीले बताएका छन् । महासङ्घका अध्यक्ष फासेल नेपालप्रति निकै सकारात्मक रहेको बताउँदै शाहीले प्राकृतिक रूपमा सुन्दर तथा हिमालै हिमाल भएको देशमा आइस रिंकको निर्माण हुनु आफँैमा गौरवको कुरो भएको शाहीले बताएका थिए ।

त्यसैगरी मस्कोमा सम्पन्न महासङ्घको कङ्ग्रेसले आगामी चार वर्षका लागि स्वीट्जरल्यान्डका रेन फासेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरेको थियो । उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कार्लेभो कुमोला, बाब निकल्सन र हङकङका थोमस बु चुनिएका थिए । उपाध्यक्ष बुले २०१८ मा दक्षिण कोरियामा र २०२२ मा चीनमा वन्टर ओलम्पिक हुन गइरहेको जानकारी गराउँदै एसियाका तीनवटा राष्ट्रलाई महासङ्घले सदस्यता प्रदान गर्नु एसियामा आइस हक्कीको विकास र विस्तारका लागि सुखद समाचार भएको जानकारी गराएका थिए ।
ice hukky