‘हिटलर’ बन्दै जीवनराम : पुच्छर हतियार बन्दा खेलकुदमा आतङ्क

‘हिटलर’ बन्दै जीवनराम : पुच्छर हतियार बन्दा खेलकुदमा आतङ्क


– श्रीविक्रम भण्डारी

यतिबेला नेपाली खेलकुदमा पुच्छरले हतियार बनेर आतङ्क फैलाउने कार्य गरेको छ । प्राकृतिक रूपमै प्राणीको शरीरले पुच्छर हल्लाउने भए पनि नेपाली खेलकुदमा भने यो उल्टो देखिएको छ । यहाँ शरीरले पुच्छर हल्लाउनुको साटो पुच्छरले शरीर हल्लाएर खेलकुदको हुर्मत लिने कार्य गरेको छ । जसले गर्दा खेलकुदमा खेलकुद गतिविधिभन्दा राजनीति खेल हाबी हुन पुगेको छ । खेलकुदलाई षड्यन्त्रको जालमा हाल्दै बागमतीमा बगाएर विष्णुमतीमा खोज्ने दुस्साहस गरिन थालेको छ । बाँदरको पुच्छर लौरो न हतियार भन्थे, तर आज त्यो गलत सावित भएको छ । यहाँ त्यही कुनै अस्तित्वमा नभएको लौरो न हतियारले खेलकुदमा क्रमिक रूपमा धावा बोलेपछि खेलकुदमा आतङ्क फैलिएको छ । खेलाडीदेखि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव उनको ताण्डवको अगाडि नतमस्तक हुन पुगेका छन् । एक सन्तले भनेका थिए, ‘घोर कलीयुगमा जे पनि सम्भव छ ।’ त्यसैको दृष्टान्त तथा उदाहरण अहिले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बनेका छन् ।

नेपाली खेलकुदमा जीवनराम श्रेष्ठको हैसियत भनेको ओलम्पिक कमिटीको अध्यक्ष मात्रै हो । यसको अर्थ खेलकुदमा उनको कार्य भनेको अन्तर्राष्ट्रिय समन्वय मात्रै हो । अर्को साँचो कुरा के हो भने नेपाल ओलम्पिक कमिटी भनेको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको एउटा वैदेशिक निकाय हेर्ने संस्था मात्रै हो । तर, आज त्यही संस्थाका अध्यक्ष श्रेष्ठ खेलकुदको सर्वेसर्वा भएको दाबी प्रस्तुत गरिरहेका छन् । खेलकुदको सानो पुच्छर भए पनि सिङ्गो खेलकुदलाई हल्लाउने कोसिस गरिरहेका छन् । उनले आफ्नो इसारामा सिङ्गो खेलकुदलाई नचाउने दुस्प्रयास गरिरहेका छन् । जुन अहिले… गर्नेलाई देख्नेलाई लाज भए पनि उनी आफ्नो हर्कत गर्न र गराउनमा कुनै कसर बाँकी राखेका छैनन् । र पनि, श्रेष्ठको गतिविधिलाई अनसुनी र अनदेखी गर्दै लुते कुकुरको रूपमा राखेप प्रस्तुत हुनु विडम्बना भएको छ । यसर्थमा कि राखेपको हैसियतमाथि नै जीवनरामले धोती लगाइदिएका छन् । श्रेष्ठले राखेपलाई नेपाल ओलम्पिक कमिटीको पुच्छर भएको प्रमाणित गरिदएका छन् । अन्यथा खेलकुदका हरेक क्षेत्रमा श्रेष्ठको हस्तक्षेपकारी भूमिकाबाट राखेप प्रताडित हुने थिएन । श्रेष्ठको हस्तक्षेपको विरुद्धमा राखेपले किन मौनता साँधेको छ र भागेर हिँडेको छ त्यो अहिले चर्चा र रहस्यको विषय बनेको छ ।

सुनिनमा आएअनुसार केशवकुमार विष्टलाई राखेपको सदस्यसचिव बनाउन जीवनराम श्रेष्ठले विशेष भूमिका निभाएका थिए रे । यो कुरा कहाँसम्म सत्य हो त्यो पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेल र केशव विष्टलाई नै थाहा होला । तर, गुनको बदला गुन लगाउने क्रममा केशवकुमार विष्टले जीवनलाई व्यक्तिगत रूपमा जसरी पोसे पनि खेलकुदलाई बलिको बोका भने बनाउन मिल्दैन । यसर्थमा कि खेलकुद कसैको बाउको बिर्ता र पेवा होइन भन्ने कुरा यहाँ बुझ्नु जरुरी छ । अर्को कुुरा कुनै कुराको पनि सीमा हुन्छ, त्यसलाई कति हदसम्म ग्रहण गर्ने त्यो आफूमा भर पर्छ । श्रेष्ठले दबाब दिँदैमा अनुचित कार्य गर्नुपर्छ भन्ने पनि छैन । अझ राखेपको सदस्यसचिव अर्थात् खेलकुदको प्रमुख व्यक्तिले राजनीतिक आस्थाकै भरमा खेलकुदको हितविपरीत कार्य गर्न कदापि मिल्दैन । यसर्थमा कि राखेप एमाले पार्टीको कुनै भ्रातृ निकाय वा संस्था नभई विशुद्ध सरकारी संस्था हो । यहाँको प्रमुख भइसकेपछि एमाले पार्टीको नभई मुलुकको सदस्यसचिव हुन्छ । यो कुरा सदस्यसचिव विष्टले बुझेको खै ? यदि उनले बुझेर पनि बुझ पचाएका हुन् भने भविष्यमा उनी असफल हुने पक्का छ । उनको नाम पनि अन्य असफल सदस्यसचिवको सूचीमा अङ्कित हुने निश्चित छ ।

मुखसम्म पानीले छोप्दा सहन सकिन्छ, तर नाकै छोप्न थाल्यो भने अवश्य प्रतिवाद गरिन्छ । यसर्थमा कि त्यसपछिको परिणाम अप्रिय हुन्छ । तर, एनओसीका अध्यक्ष जीवनरामले खेलकुदमा खेलेको राजनीतिक खेल र गरेको अन्याय, अत्याचार र हस्तक्षेपले खेलकुदको सबै सीमा नाघे पनि राखेपले किन ‘चुँ’समेत गर्न सकेको छैन– त्यो अहिले अहम् विषय बनेको छ । शास्त्रमा भनिएको छ, ‘अन्याय गर्नेभन्दा अन्याय सहने दोषी हुन्छ ।’

jeevan-ram

यो कथनलाई आत्मसात् गर्ने हो भने श्रेष्ठभन्दा विष्ट दोषी देखिन्छन् । यसर्थमा कि आफ्नै सानो पुच्छरले शरीरलाई आठ रेक्टर स्केलको भूकम्पले झैं हल्लाउँदा पनि मौनताको साँध्नुको रहस्य साँच्चीकै रहस्य बनेको छ । अहिले जीवनरामको निरन्तर अत्याचार र दबाबपछि सदस्यसचिव विष्ट बाक्क र दिक्क भएको जानकारीमा आएको छ । जीवनरामले खेलकुद सिध्याउन लागे, आफू सदस्यसचिव भएर पनि रमिते बन्नुपरेको गुनासो आफ्नानिकटका सहयोगीलाई विष्टले सुनाएको स्रोतको दाबी छ । पछिल्लो समयमा राखेपका हरेक क्रियाकलापमा हस्तक्षेप गर्दै आएका श्रेष्ठले खेलकुदलाई एमालेमय बनाउन राष्ट्रिय सङ्घहरूमा पनि हस्तक्षेप गरेको खुलासा भएको छ । ब्याडमिन्टन, जुडो, बुद्धिचाल र भलिबल त्यसको उदाहरण हुन् । जीवनरामको कुटिल चालकै कारण भलिबलका पूर्वअध्यक्ष दानबहादुर तामाङ र गंगाबहादुर थापाले निर्वाचनमा भलिबलको कोर्ट छोडेका थिए । श्रेष्ठ तामाङलाई जसरी भए पनि पन्छाउन चाहन्थे भने थापालाई भलिबलको कुर्सीमा आसिन गर्ने चाहन्थे । यसका उनको अभीष्ट पूरा नभए पनि गंगाबहादुर थापालाई भलिबलबाट ओलम्पिकको प्रतिनिधिको रूपमा पठाउनुपर्ने श्रेष्ठले सर्त राखेको थाहा भएको छ । यसो नगरे भलिबल सङ्घलाई ओलम्पिक कमिटीले मान्यतासमेत नदिने धम्की दिएको पनि स्रोतको दाबी छ । हेरौँ, उनी यसमा कति सफल हुन्छन् त्यो भविष्यले बताउनेछ । त्यस्तै अहिले श्रेष्ठले बक्सिङ सङ्घको चुनावलाई आँखा गाड्न पुगेको थाहा भएको छ । सङ्घका अध्यक्ष राजीव श्रेष्ठलाई पाखा लगाउन महासचिव टेन्डी लामाको सहयोगमा साम, दाम, डण्ड भेद चारै नीति अख्तियार गरेको बुझिनमा आएको छ । यसमा शिखण्डीको भूमिकामा सङ्घकै महासचिव दीपक गुरुङ देखिएका छन् । तर, राखेप राजीवप्रति सकारात्मक देखिएकाले बक्सिङ सङ्घको निर्वाचनमा महाभारत हुने सङ्केत देखापरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता र डलरको मातमा मातेका जीवनरामले हैसियतभन्दा निकै बढी उप्रदो मच्चाउँदा पनि राखेप अर्थात् सदस्यसचिव विष्ट मूकदर्शक बन्नु विडम्बना भएको छ । जीवनरामकै कारण खेलकुदमा कुनै ठोस निर्णय गर्न नसकेका विष्ट अहिले पनि उनकै दिशा–निर्देशनमा चलेको सङ्गीन आरोप लागेको छ । राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हालेपछि उद्घाटन र विदेश सयरमै समय व्यतीत गरेका विष्टलाई असफल पार्न यस्तो ब्युह जीवनरामले रचेको थाहा भएको छ । नेपाल आइस हक्की सङ्घका पदाधिकारीसँग विष्ट स्वीट्जरल्यान्ड भ्रमणमा गएपछि निकै रुष्ट बनेका श्रेष्ठले विष्टलाई आफ्नो ठाउँमा बस्न र आफ्नो निर्देशनबिना कतै हलचल नगर्न भन्दै हपारेको स्रोतले बताएको छ । सो समयमा तपाईं विदेश कुन–कुन देश घुम्ने ( अमेरिका, क्यानडा, फ्रान्स, बेलायत आदि) मलाई भन्नुहोस्, म आर्थिकदेखि सबै व्यवस्था मिलाइदिन्छु श्रेष्ठले भनेको सुनिनमा आएको छ । त्यस्तै राखेपबाट जति आर्थिक लाभ लिनुहुन्छ लिनुहोस्, स्वदेश विदेश जति घुम्नुहुन्छ घुम्नुहोस्, तर राखेपमा मेरो आदेशबिना कुनै कार्य नगर्नुहोस् श्रेष्ठले भनेको स्रोतको दाबी छ । यसरी राखेपमा सदस्यसचिवको आवरणमा केशवकुमार विष्ट देखिए पनि खेलकुदलाई चलाउने कार्य जीवनरामले गरिरहेका छन् भन्दा सायदैमा कसैको शङ्का होला । तसर्थ अहिले पनि केही बिग्रिएको छैन, खेलकुदमा एमालेका जीवनरामको सङ्कीर्ण सोचलाई परास्त गर्न विष्टले अदम्य साहस देखाउनुपर्ने जरुरी भइसकेको छ । अन्यथा जीवनरामले आफ्नो हिटलरी रवाफ देखाउँदै विष्टसँगै खेलकुदलाई पनि थाङ्नामा सुताउने प्राय: निश्चित छ ।