बहिष्कृत भए सिटौला र गगन

बहिष्कृत भए सिटौला र गगन


नेपाली कांग्रेसमा आफ्नो बेग्लै हैसियत बनाउन कस्सिएका कृष्णप्रसाद सिटौला र गगन थापालाई सप्तरीका कांग्रेस नेता तथा कार्यकर्ताले बहिष्कार गरेका छन् । सिटौला र थापा गत सोमबार (जेठ १० गते) सप्तरीका नेता र कार्यकर्तालाई प्रशिक्षण दिने बहाना बनाएर राजविराज पुगेका थिए । उनीहरूसँगै केन्द्रीय सदस्य धनराज गुरुङलगायत कार्यक्रमस्थलमा गएकोमा जिल्लाका सबैजसो नेता र कार्यकर्तारूले बहिष्कार गरेको बुझेपछि गुरुङ कार्यक्रममा भागै नलिई त्यहाँ खाना खाएर फर्किएका थिए । गुरुङसँगै अर्की एक महिला पनि फर्किएकी थिइन् ।
gagan-Sitaula
प्राप्त समाचारअनुसार विगतमा सुजाता कोइरालासँग नजिक रहेर उनकै अनुकम्पाबाट राज्यमन्त्रीसमेत बनेका रामकुमार चौधरीले सुजाताको राजनीतिक भविष्य सकिएको भन्दै सिटौलालाई नेता मान्ने निर्णय लिएका छन् । यसै क्रममा आफूलाई पनि फाइदा हुने र सिटौला–गगनलाई पनि स्थापित गर्न बल पुर्‍याउने उद्देश्यले राजविराजमा जिल्लास्तरीय एक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । तर, जिल्लास्तरीय भनिएको सो प्रशिक्षण शिविरमा जिल्ला सभापति दिनेश यादवलगायत कार्यसमितिका कुनै पनि सदस्यले भाग लिएनन् । ६ क्षेत्र रहेको सप्तरीका क्षेत्रीय समितिहरूमध्ये तीन नं. क्षेत्रका सभापति र दुई सदस्यबाहेक अन्य सबैले समारोह बहिष्कार गरेका थिए । सिटौला र गगनले पार्टीको आधिकारिक प्रतिनिधित्व गर्नेभन्दा पनि बेग्लै धन्दा गरेर पार्टीमा गुटबन्दी बढाउन सक्रिय रहेको पाइएपछि जिल्लाका ९५ प्रतिशतभन्दा बढी नेता र कार्यकर्ताले उनीहरूलाई बहिष्कार गरेको बुझिएको छ ।