कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधनबारेको छानबिन टोली मुस्ताङमा

कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधनबारेको छानबिन टोली मुस्ताङमा


सशस्त्र प्रहरीले कोरलानाका (मुस्ताङ)बाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि त्यसबारे छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ ।

विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुखसमेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली बेनी-जोमसोम सडकमार्ग हुँदै शुक्रबारमुस्ताङको जोमसोम पुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिएका छन् ।

छानविन टोली मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधनको अनुमगनसमेत गरेको भन्सारप्रमुख चुडालले जानकारी दिए । चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो ।

टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ । कोरलानाकाबाट भन्सार जाँचपास भइ लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत शुक्रबार नै टोलीले स्थलगत अनुगमन गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए । मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ ।

छानविन टोलीले आज (२३ जेठ) कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमन गर्दैछ ।

ज्ञातव्य छ, गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो ।