प्रशासनको रवैयाले भड्किए यातायात व्यवसायी

प्रशासनको रवैयाले भड्किए यातायात व्यवसायी


Yatayat
ट्राफिक नियम उल्लंघन गरेवापत अत्यधिक वृद्धि गरिएको जरिवानाको विरोध गर्दै महाराजगञ्जमा मजदुर महिला

सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई अत्यधिक वृद्धि गरी जरिवाना लगाएको भन्दै आन्दोलनरत यातायात व्यवसायी र मजदुरको संयुक्त आव्हानमा गरिएको सार्वजनिक यातायात बन्दले १३ जेठका दिन देशभर प्रभाव परेको छ । विहीबार विहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा बन्दको पक्षमा नारा लगाउँदै सडक अवरुद्ध गर्न खोज्ने १ सय ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिई पुलिस क्लवमा राखेको बुझिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा जारी भएको आन्दोलनमा सयौंको संख्यामा मजदुर सडकमा ओर्लिएका थिए । झण्डै एक दर्जन मजदुर संगठन र अन्य सम्बन्धित संस्थाद्धारा आयोजित बन्द कार्यक्रममा विहान झण्डै एक घण्टा चावहिल क्षेत्र रणभूमिमा परिणत भएको थियो । प्रहरी र बन्दकर्ताबीच ढुङ्गा हानाहान हुँदा सैनिक आवासीय विद्यालयको विद्यार्थी बोकेर गएका दुई गाडीलाई बन्दकर्ताले तोडफोड गरेका थिए । गाडी तोडफोड गर्दा एक बालक र दुई प्रहरी सामान्य घाइते भएका थिए । अप्रिय घटना नहोस् भन्ने हेतुले सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको थियो ।

प्रहरीले जबर्जस्ती गरी सडक अवरुद्ध गर्न खोजेको आरोपमा महासंघका सचिव वसन्त भण्डारी, बाग्मती अञ्चल कोषाध्यक्ष नरबहादुर श्रेष्ठ महासंघकै पूर्वउपाध्यक्ष सोम तुलाचनलगायत १ सय ८२ जनालाई नियन्त्रणमा लिएको थियो । वसुन्धरा सार्वजनिक माइक्रो बस व्यवसायी संघका अध्यक्ष एवं महासंघका सल्लाहकार हेमेन्द्र शेरचनले सरकारले यातायात व्यवसायी र मजदुरका जायज माग पूरा गर्नुको सट्टा प्रहरी दमनमा उत्रिएको आरोप लगाएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक अधिकारलाई वर्तमान लोकतन्त्रवादी सरकारले दमन गरेर नाङ्गो रुप प्रर्दशन गरेको आरोप शेरचनले लगाए ।

आफूहरुको जायज मागलाई वेवास्ता गरी यसै गरी दमनमा उत्रिएमा आन्दोलनका अझ कडा कदम चालिने पनि शेरचनले बताए । यातायात व्यवसायी र मजदुरले देशै ठप्प हुने गरी यातायात बन्द गराएपछि यातायात व्यवस्था विभागले बिहिबार नै बन्दकर्तालाई वार्ताका लागि पत्र पठाएको थियो ।