माधवलाई समेत तताए ओलीले

माधवलाई समेत तताए ओलीले


madhav_nepal

सितिमिति कसैको बारेमा भद्दा टिप्पणी नगर्ने नेता माधवकुमार नेपालले यसपालि प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको कार्यशैलीलाई लिएर गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको छ । ओलीको गलत क्रियाकलाप र शैलीबाट आजित भएका नेता नेपालले हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्ता त्यसरी भाइरल बनेको हो । नेता नेपालले ओलीका कारण देश र पार्टीमा भ्रष्टाचार, विसङ्गति, विकृति, बेथिति र अनुशासनहीनता बढेकोमा चिन्ता प्रकट गर्दै ‘अर्काकी श्रीमती ताक्ने, शहीदकी पत्नी ताक्नेहरू’ प्रोत्साहित भएकोमा दु:ख व्यक्त गरेका छन् ।

यसप्रकारको अभिव्यक्ति दिनुअघि माधवकुमार नेपाल मदन भण्डारी अध्ययन केन्द्रले गत साता आयोजना गरेको एक राष्ट्रिय भेलामा पनि सहभागी भएर मन्तव्य प्रकट गरेका थिए । योगेश भट्टराई अध्यक्ष र ठाकुर गैरे महासचिव रहेको मदन भण्डारी अध्ययन केन्द्रका तर्फबाट गुटगत भेला नहोस् भन्ने चाहना माधवकुमार नेपालको थियो र उनले त्यसप्रकारको भेला गर्नुहुँदैन भनी आयोजकहरूलाई निरुत्साहित गर्न पनि खोजेको थिए । केही दिनअघि उषाकिरण भण्डारी अध्यक्ष र राजन भट्टराई महासचिव रहेको मदन भण्डारी पाउण्डेसनले ओली समर्थकहरूलाई मात्र भेला गरेर भ्रम पैदा गर्न खोजिएकोले सो भ्रम चिर्न अर्को भेलाको आयोजना गर्नुपरेको बताएपछिचाहिँ नेता नेपाल भेलामा सहभागी भएर मन्तव्य दिन राजी भएको बताइन्छ ।

गत वैशाखमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंको नयाँ बानेश्वरमा देशभरिका ओलीसमर्थक कार्यकर्ताको भेला गरेको थियो । करिब चार सयजनाको सहभागिता रहेको भेला समापन भएपछि प्रधानमन्त्रीनिवासमा बोलाएर सबैलाई रात्रिभोज दिइएको थियो । तर, उक्त भेला र भोजमा माधवसमर्थक कसैलाई आमन्त्रण गरिएको थिएन । सत्तापक्षको सो गुटगत भेलालाई जवाफ दिँदै जेठ ११ र १२ गते थापाथलीमा मदन भण्डारी अध्ययन केन्द्रले राष्ट्रिय भेलाको आयोजना गरेको थियो । तर, यो भेलामा ओलीसमर्थकहरू एकजनाको पनि सहभागिता नरहेको बताइन्छ ।

यसरी माधव र ओली पक्षबीच मतभिन्नता र दरार बढ्दै गएका बेला माधवकुमार नेपालले टेलिभिजनमार्फत प्रकट गरेको अभिव्यक्तिले दुई पक्षबीच मनमुटाव बढाउने देखिएको छ । माधवसमेत तात्नुपर्ने अवस्था आउने गरी ओलीले गुटबन्दी गरेपछि कतै एमाले पुन: विभाजित पो हुने हो कि भन्ने त्रास र चिन्ता एमालेका शुभचिन्तकहरूमा बढेको छ ।