नयाँदिल्ली जान दौडादौड

नयाँदिल्ली जान दौडादौड


Picture1

नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय कांग्रेसनिकटको भएका कारण कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएपछि भारतको राजदूत बन्न केही व्यक्तिहरूको दौडधुप सुरु भएको छ । यसरी दौडधुप गर्नेहरूमध्ये सबैभन्दा अगाडि ‘रहस्यमयी’ व्यक्तिका रूपमा चिनिने माधवप्रसाद घिमिरे रहेका छन् । नेपालका निमित्त भन्दा बाहिरी शक्तिका लागि उपयोगी रहँदै आएका माधव घिमिरे खिलराज रेग्मी नेतृत्वको सरकारमा रेग्मी स्वयम्को इच्छाविपरीत परस्पर नितान्त भिन्न चरित्रका (गृह र परराष्ट्र) मन्त्रालयको मन्त्री बन्न सफल व्यक्ति हुन् । आन्तरिक राजनीतिमा एमालेसँग निकट घिमिरे सहसचिव पदमा रहँदैदेखि ‘बाह्य सेवा’मा संलग्न व्यक्तिका रूपमा चिनिन्छन् । घिमिरेले भारतको राजदूतमा आफूलाई प्रस्ताव गरेको अवस्थामा मात्र एग्रिमो आउनसक्ने भनी प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ‘इन्ल्फुएन्स’ गर्ने प्रयास गरिरहेको बालुवाटारनिकट सूत्रले जनाएका छन् । घिमिरेले झैँ शाहीकालीन मन्त्री रमेशनाथ पाण्डेले पनि आफ्ना छोरा निश्चलनाथलाई भारतको राजदूत प्रस्ताव गरे तत्काल एग्रिमो ल्याइदिने र दुई देशबीचको सम्बन्ध सुधारमा पनि आफूले महत्त्वपूर्ण योगदान दिनसक्ने भनी प्रधानमन्त्री ओलीलाई प्रभावित गर्ने प्रयास गरिरहेका छन् । तर, पाण्डेका कुरामा ओलीले भर गर्न सकेका छैनन्, निकटवर्तीहरूसँग ओलीले भन्ने गरेका छन्, ‘पाँडेले भारतसँग सम्बन्ध सुमधुर बनाउन सक्ने भए उनी आफैँ परराष्ट्रमन्त्री भएका बेला बनाउँथे ।’

राजदूतको प्रतिस्पर्धामा देखापरेका अर्का व्यक्तित्व हुन्– भीम उदास । तीस वर्ष संयुक्त राष्ट्रसङ्घीय सेवामा संलग्न उदासले एनआरएनको स्थापनामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यूएनमा सेवारत रहँदा उनले जोर्डन, रसिया, म्यानमार, लेसोथो र अर्मेनियामा कन्ट्री डाइरेक्टरका रूपमा पनि काम गरेका थिए । उदास राजदूत बन्न योग्य मानिए पनि उनी कुनै राजनीतिक दलसँग आबद्ध नरहेकोले प्रधानमन्त्रीको साथ प्राप्त गर्ने विश्वास गरिएको छैन । प्रधानमन्त्री आफ्नो पूर्ण विश्वासको मानिसलाई भारतको राजदूतमा प्रस्ताव गर्न चाहन्छन्, तर उनले अहिलेसम्म ‘मान्छे पाउन नसकेको’ बताइन्छ । पाँडे र घिमिरेबाहेकलाई प्रस्ताव गर्ने पक्षमा रहेका ओलीले भीम उदासलाई पनि अहिलेसम्म स्वीकार गर्न सकेका छैनन् ।