राजयोग प्रशिक्षक महिलामाथि ज्यादती

राजयोग प्रशिक्षक महिलामाथि ज्यादती


‘तल्लो जात भएकै कारण पटक–पटक दुव्र्यवहार गरियो, प्रहरी–प्रशासनको दृष्टि पुगेन’

19 Om Shanti

रूपन्देही । नवलपरासीको सुनवल स्वाँठीमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय सञ्चालन गरेका दुई महिलाले कसैबाट पनि न्याय नपाएको गुनासो गरेका छन् । स्वाँठी वनकट्टीमा ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयको राजयोग प्रशिक्षण सञ्चालन गर्दै आएका मनमायादेवी दमाईं र लक्ष्मी परियारले स्थानीयले कहिले तल्लो जातका भन्दै त कहिले जग्गाको विषयलाई लिएर उठीबास लगाउन खोजेको गुनासो गरेका हुन् ।

०७० चैत १३ गते वनकट्टीका केही अगुवाले उल्लेखित महिलालाई तल्लो जातका भनी अपमान गरेका थिए । त्यसपछि ७० चैत २० गते जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै निमबहादुर शाही, यमप्रसाद पाण्डेसहित १२ जनाविरुद्ध जिल्ला अदालतमा उनीहरूले मुद्दा पनि दायर गरेका थिए ।

तर, जिल्ला अदालतले उल्टै पीडित तुल्याउने फैसला गरेपछि पीडित महिला पुनरावेदन अदालतसम्म पुगेका थिए । अदालतले जातीय छुवाछूतको मुद्दामा पनि पीडककै पक्षमा फैसला गरेपछि वनकट्टीमै बस्दै आएकोमा फेरि जेठ ८ गते आश्रममा आक्रमणको प्रयास गरेको पीडित मनमायादेवीले जानकारी दिनुभयो । गत शुक्रबार पत्रकार र अधिकारकर्मीहरूसँग दुखेसो पोख्दै मनमायाले तल्लो जातका भनी होच्याएर पटक–पटक आफूहरूमाथि ज्यादती हुँदा पनि कसैले उचित सहयोग नगरेको बताउनुभयो ।

०५५ असोज ४ गते जिल्ला प्रशासन कार्यालयले जमिन भोगाधिकारका लागि अनुमति दिएको प्रमाण हुँदाहुँदै पनि बास छाड्न दबाब दिएको ब्रह्मकुमारी लक्ष्मीले बताउनुभयो । स्थानीय आमा समूहको नेतृत्वमा आश्रममा रहेका आँप, लिची र गाईको गोठमा क्षति पुर्‍याएको पीडितद्वयको भनाइ छ । आश्रमको वरिपरि लगाइएको फूलसमेत काटेर फालिदिएको प्रत्यक्षदर्शी अर्की ब्रह्मकुमारी गीता पौडेलले बताउनुभयो । उहाँका अनुसार आमा समूहका महिलाले दुई योगमार्गीलाई गालीगलौजसँगै ‘बलात्कार गरेर लेखेटनुपर्छ’ भन्नेसम्मको अभद्र अभिव्यक्ति दिएर दुव्र्यवहार गरेका थिए ।

अदालतसम्म घटना पुगेपछि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवलको समेत पहलमा धार्मिक स्थलका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी सहमति भएको थियो । तर, सहमतिविपरीत तारबार लगाउन थालेपछि विरोध गर्दा उल्टै आक्रमणको धम्की र आश्रममा रहेका सामानमा तोडफोड भएको मनमायाले बताउनुभयो । यही जेठ ९ र १० गते पनि आमा समूहका नाममा आफूहरूलाई जातपातको कुरा उठाएर गालीगलौज गरिएको पीडितले जानकारी दिए । स्थानीय आमा समूहका देउरूपा गौतमको नेतृत्वमा घटना भएको पीडितको आरोप छ ।

ज्ञातव्य छ, भगवती सामुदायिक वनको करिब १० कट्ठाको क्षेत्रफलमा फैलिएको उक्त जमिनमा आश्रमका ती महिला वर्षौंदेखि बस्दै आएका छन् । यसरी योग र शान्तिको मार्गमा रहेका निर्दोष महिलामाथि जातपातको कुरा उठाएर ज्यादती गरिएको विषयमाथि प्रहरी–प्रशासनले गम्भीर ध्यान दिई पीडितलाई न्याय दिने र ऐनकानुनले निषेध गरेको जातपातको कुरा गरी ज्यादती गर्नेविरुद्ध कानुनी कारबाही अघि बढाउनु अपरिहार्य रहेको स्थानीय सचेतजनको धारणा रहेको छ ।

– चन्द्रकान्त खनाल