भूपू सैनिकको योगदानको कांग्रेस नेताबाट प्रशंसा

भूपू सैनिकको योगदानको कांग्रेस नेताबाट प्रशंसा


नेपाल भूतपूर्व सैनिक सङ्घको पाँचौं राष्ट्रिय महाधिवेशन

नेपाली कांग्रेसको भातृसंस्था नेपाल भूतपूर्व सैनिक सङ्घको पाँचौँ महाधिवेशनको शुक्रबार काठमाडौंमा उदघाटन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्दै भूतपूर्व सैनिकले आफ्नो घरपरिवार छाडेर विदेशी भूमिमा परिश्रम गरेर नेपालमा पठाएको पैसाले देशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेको बताए । देश विकासमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण रहेको उनको तर्क थियो । सभापति देउवाले विकाससँगै प्रजातन्त्र प्राप्ति र काँग्रेसका लागि सङ्घको योगदान महत्वपूर्ण रहेको बताउँदै पाँचौँ महाधिवेशनले देश हाँक्न सक्ने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली समाजमा भइरहेको आधुनिक रहनसहनको विकासको सभ्यता पस्कन भूपू सैनिक सङ्घको योगदान रहेको बताउँदै पार्टीसँग सङ्घको घनिष्ट सम्बन्ध रहेको उल्लेख गरे । सङ्क्रमणकालीन अवस्थामा गाउँ–गाउँमा काँग्रेसलाई बचाएर राख्न सङ्घमा आबद्ध साथी र शिक्षक सङ्घको महत्वपूर्ण योगदान रहेको नेता पौडेलको भनाइ थियो । सङ्घलाई हालसम्म पार्टी र राज्यका तर्फबाट कुनै किसिमको कार्यक्रम दिन नसकेकामा चाहिँ उनले चिन्ता व्यक्त गरे ।

सो अवसरमा सङ्घलाई योगदान दिनुहुने पूर्वसांसद एवम् सङ्घका संरक्षक दीपकबहादुर गुरुङ, सांसद दिलमान पाख्रिन, चौबहादुर गुरुङ, मोतीप्रसाद आले, केशवबहादुर गुरुङ र कौशिला गुरुङलाई विशेष सम्मान गरिएको थियो । सङ्घले प्रकाशित गरेको भूपू सैनिक सन्देश नामक स्मारिकाको काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले एकसाथ विमोचन गरेका थिए । महाधिवशेनमा भाग लिन देशभरबाट ३ सय ९९ प्रतिनिधि सहभागी भएका छन् ।