प्रचण्डलाई उल्टै ओलीको चुनौती

प्रचण्डलाई उल्टै ओलीको चुनौती


prachanda-oli

भद्र सहमतिअनुसार आफूलाई खड्गप्रसाद ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ । गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले वामगठबन्धन जोगाउनुपर्ने र भारतसँग लड्नुपर्ने अवस्था विद्यमान रहेको तर्क प्रस्तुत गर्दै भने, ‘यो सधैँको खटपट म सुन्न चाहन्न, तपाईंलाई यो गठबन्धनबाट बाहिर जानु छ भने जानुहोस् मेरो भन्नु केही छैन, होइन भने भद्र सहमतिका नाममा अभद्र कुरा गर्दै हिँड्ने काम बन्द गर्नुपर्‍यो ।’

ओलीको रौद्र रूप देखेर रिस पोख्न पुगेका प्रचण्ड आफैँ ठण्डा भएर भने, ‘म राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने पक्षमा छु, तपाईंलाई हटाएर बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने मेरो चाहना होइन ।’ यसरी प्रचण्डले गलेको कुरा गरेपछि ओलीले अर्को मौका छोप्दै भने, ‘तपाईंले पठाएको गृहमन्त्रीका काम–कारबाही ठीक छैनन्, मैले उनलाई हटाउनुपर्ने भयो, अर्को नाम सिफारिस गर्नुहोस् ।’

ओलीले यसरी गृहमन्त्री शक्ति बस्नेतलाई पदमुक्त गर्न चाहेको बताएपछि प्रचण्ड साथीहरूसँग छलफल गरेर निर्णय दिउँला भन्दै बैठकबाट बाहिरिएका थिए । दुई नेताबीच स्थानीय निर्वाचन र भारतसँग ‘लड्नुपर्ने’ विषयमा समेत छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओलीसँगको यो छलफलपछि प्रचण्डले सत्ता हस्तान्तरण हुने आशा मारेका छन् र यस घटनाले उनलाई निराश तुल्याएको छ । आफ्नो पार्टीभित्र बहुमत नेताहरू वाम गठबन्धनको पक्षमा रहेकोले प्रचण्ड सकसमा परेका छन् । वस्तुस्थितिलाई बुझेर नै ओलीले पनि प्रचण्डलाई गठबन्धन तोडेर बाहिरिन चुनौती दिएका हुन् ।