सिन्को नभाँच्ने ओलीले यति गर्नु नि !

सिन्को नभाँच्ने ओलीले यति गर्नु नि !



‘मिर्गौलाका रोगीहरूले लामो समयसम्म ‘स्टेरोइड’ लिइरहँदा त्यसको साइडइफेक्टका रूपमा ‘मेगालोमानिया’ देखापर्न सक्छ भन्ने चिकित्सकहरूको भनाइ छ । ‘मेगालोमानिया’ एकप्रकारको मनोरोग भएको र यस्ता रोग भएका व्यक्तिहरूमा ‘आफू सबभन्दा बलियो र सबैभन्दा राम्रो’ भन्ने भ्रम पैदा हुन्छ । चिकित्सकहरूका अनुसार ठूलाठूला कल्पना गर्ने र आफूले चाहेका जुनसुकै काम पनि गर्न सक्छु भन्ने मनस्थिति त्यस्ता मानिसमा हुने गर्दछ । ‘म नै ठीक हुँ र म जे पनि गर्न सक्छु’ भन्ने मनोरोग भएका सामान्य मानिसले त समाजमा समस्या पैदा गर्न सक्छन् भने कदाचित त्यस्ता मानिसले देशकै कार्यकारी प्रमुखको हैसियत प्राप्त गरे भने कस्तो अवस्था आउला ? यो प्रश्नको जवाफ खड्गप्रसाद ओलीले आफ्नो व्यवहारबाट दिँदै आएका छन् ।’…

– देवप्रकाश त्रिपाठी

उल्लिखित पङ्क्तियुक्त लेखको धेरै कुरासँग मेरो विचार मिल्दैन, तर ओलीले अलिक धेरै नै भाषण गरेको हो कि भन्नेचाहिँ लाग्दै छ । रेल, पानीजहाज, घरघरमा ग्यास, आणविक हतियार, रकेट, फाइटर प्लेन, मंगल ग्रह यात्रा, चन्द्रमामा तीर्थयात्रालगायत भविष्यमा गर्न सकिने, गर्नुपर्ने धेरै कुरा छन् । तर, अरूले पागल नभनुन् भन्नका लागि इमानदारिता र साहस हुँदा कम्तीमा केही दिनमा गर्न सकिने काम गर्नु नि !

kp oli

जस्तो कि,
१. धनी र कमाइ धेरै हुने व्यक्तिबाट धेरै अनि गरिबबाट कमाइअनुसार थोरै कर लिएर धनी–गरिब सबैको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अवश्यकताको ग्यारेन्टी हुने गरी नीतिनियम बनाउने ।
२. भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्ने प्रविधि, सीसी क्यामेरा, कम्प्युटर प्रणालीलगायतका संयन्त्र जडान गर्ने अनि घुस लिने र दिने दुवैलाई हदैसम्मको सजाय दिने ।
३. नेपालमा खुला बजारका नाममा धरासयी बनाइएका सरकारी स्वामित्वका कलकारखानालाई पुनर्जीवन दिएर अनि निजी क्षेत्रसँग समन्वय गरेर रोजगारीको ग्यारेन्टी गर्ने वा बेरोजगारी भत्ता दिने ।
४. गरिब श्रमिकलाई ठग्न पाइएन भनेर कुर्लिने मानव बेच्ने कारखानालाई बन्द गरेर आफूले रोजगारी दिन नसके आफैँ विदेश पठाउने, सस्तोमा ।
५. फोहोरबाट ऊर्जा निकाल्ने योजनासहित तत्काल कम्तीमा उचित व्यवस्थापन गर्ने ।
६. दलैपिच्छेका भ्रातृ सङ्गठन खारेज गर्ने अनि सरकारी जागिर खाएर राजनीति गर्नेलाई बर्खास्त गरेर अरबमा स्नातकको सिराने हालेर सुत्ने श्रमिकलाई जागिर दिने ।
७. सार्वजनिक यातायात सरकार आफैँले व्यवस्थित गर्ने वा कम्तीमा सरकारी मापदण्डअनुसार सञ्चालन गर्ने निजी क्षेत्रलाई मात्र व्यवसाय गर्न दिने ।
८. सरकारी विद्यालय, कलेज नगएर कार्यालय समयमा अन्य काममा जानेलाई बर्खास्त गर्ने ।
गर्नुपर्ने र गर्न सकिने यस्ता कुरामा सिन्कासमेत नभाँच्ने अनि गफ भने ओबामा, पुटिनका भन्दा ठूला गर्ने ? लाजमर्दो !!

– सुमन बराल