नयाँ शक्तिको जन्मपछि जन्मिएका प्रश्न

नयाँ शक्तिको जन्मपछि जन्मिएका प्रश्न


Amar Deep Moktan

– अमरदीप मोक्तान

३० जेठ ०७३ मा बडो तामझामका साथ नयाँ शक्ति नामकरण भएको नयाँ पार्टीको जन्म भएको छ । नयाँ शक्तिका अभियन्ताको रुपमा पहिलो संविधानसभाको निर्मम हत्या गर्ने तत्कालीन बाहुबली भूतपूर्व प्रधानमन्त्री भट्टराई देखिएता पनि अदृश्य सहयोगबिना यत्रो ठुलो तामझाम असम्भव छ भन्ने सचेत नागरिक तप्काको विश्लेषण छ । ‘अबको निकाश, आर्थिक विकाश’को नाराका साथ मैदानमा उत्रिएका बाबुरामले मोदीको नारा ‘सब का साथ, सब का विकास’सँग नक्कल गरेको प्रतीत हुन्छ । विडम्बना के छ भने नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले अतीतमा गरेको महाभूललाई कहिल्यै पनि स्वीकार गरेनन्, साथै प्रायश्चित गर्ने प्रयास पनि गरेनन् । मावओवादी जनयुद्ध कालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनि भाग्न मिल्छ ? यो कुन दर्जाको नौटंकी हो ? छोराछोरी बिग्रिए तिनीहरूलाई चटक्कै सडकमा फालेर अर्को बिहे गर्नतर्फ लाग्ने कि यसमा मेरो पनि केही दोष होला भनेर सच्याउने कुरा सहि हो ?

दोष बाबुरामको मात्र हो भन्न नमिल्ला, तथापि प्रचण्डसँग घाँटी जोडेर हिँड्ने बाबुराम हैनन ? तत्कालिन एमाओवादी पार्टी हाल माओवादी केन्द्रलाई यहाँसम्म ल्याइपुर्‍याउने बाबुराम होइनन् भन्न मिल्छ र ? तत्कालिन एमाओवादीका प्रचण्डपछि सेकेण्ड म्यान होइनन् बाबुराम ? पार्टी बिग्रिनुमा प्रचण्डजति जिम्मेवार छन्, त्योभन्दा कम्ता जिम्मेवार छैनन् बाबुराम । अनि अहिले आएर भाग्न मिल्छ ?

वास्तवमा द्वन्द्वकालिन मुद्दाले तर्सिएका छन् माओवादी कार्यकर्ताहरू । कतिपय जेलमा छन्, कैयौँ वेपत्ता छन् । हिजो बाबुराम–प्रचण्डकै भाषण सुनेर, उनीहरूले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरू अहिले अंगभंग वस्थामा छन्, परिवारका सदस्य गुमाएका छन् । आफूले रोपेको बीउको फल जे–जस्तो भए पनि त्यसको जिम्मेवारी बाबुरामले भने लिनैपर्ने थियो । तर, उनी भगौडा बने । सोझासाझा गरिब निमुखा अपहेलित उत्पीडित जनतालाई मझदारमा छोडेर आफैले समग्र सिर्जना गरेको सुन्दर संसारबाट भागे । अहिले आएर कार्यकर्ताहरूले मुद्दा खेपिरहँदा बरु प्रचण्डले सगर्व घोषणा गरे– सर्वोच्च कमाण्डरको नाताले सबै घटनाको मैले जिम्मेवारी लिन्छु । तर बाबुराम…? उनलाई नयाँ शक्ति आर्जनबाट फुर्सद छैन ।

अब प्रश्न छ, नयाँ शक्ति केका लागि र कसका लागि ? लासका चाङ आफ्नै विचारले सिर्जिएका थिए र त्यसका लागि आफू पनि जिम्मेवार रहेको कुरा उनी स्वीकार्दैनन् । यो हद दर्जाको स्वार्थीपन, लुच्चोपना बाबुरामले देखाएका छन् । बाबुरामले लाखौं मानिस आफ्नो पछि लगाउलान् आर्थिक क्रान्तिको नाममा । हिजो पनि उनले लाखौँको आदर्श बन्ने कोशिस गरेकै हुन् राजनीतिक क्रान्तिको नाममा । तर अलिकति पनि लज्जाबोध र राजनीतिक इमान्दारिता नभएका बाबुरामले यो अहिलेको नयाँ शक्ति कति दिन टिकाउलान् ? सफलताको स्वामित्व लिने र बिग्रे भाग्ने बाबुराम प्रवृत्तिलाई ती हजारौँहजार बलिदानको स्वामित्व बोकेकाहरूले भने कदापी माफी दिन सक्दैनन् ।

स्मरण रहोस्, धेरै पटक रामचन्द्र पौडेल तथा प्रचण्ड प्रधानमन्त्री चयनका निम्ति भएको चुनावमा मधेशी दलको अनुपस्थिति तथा विरोधका कारण बहुमत नपुगेर प्रधानमन्त्री चयन हुन् सकेन र बाध्य भएर मावोवादीद्वारा सर्वसम्मतिले बाबुरामको नाम प्रस्तावित गर्नु पर्‍यो । बाबुरामलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनासाथै हिजोसम्म कांग्रेस माओवादी दुवै पार्टीमा मधेशीलाई हेर्ने दृष्टिकोण समान रहेको भनि प्रधानमन्त्री चुनाव बहिस्कार गर्ने मधेशी दल रहश्यमय ढंगले गोलबन्द भएर बाबुरामको पक्षमा मत दिँदा बाबुराम प्रधानमन्त्रीमा निर्वाचित भए ।

सत प्रतिशत नेपाली जनताको आकांक्षा समेटिएको नभए तापनि बहुसंख्यक नेपालीको सहमतिमा जारी संविधानमाथि बेखुशी जनाउँदै नेपालमा अघोषित नाकाबन्दी सुरु भएको थियो र आफूहरूलाई मधेशीहरूको प्रतिनिधि दाबी गर्ने समूहले मुलुकमा अस्थिरता मच्चाएको बेला बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्यागको गर्ने घोषणा अर्थपूर्ण थियो । आफ्नो प्रधानमन्त्रीत्वकालमा संविधान जारी गर्न मात्र सकेका भए पनि भट्टराईमाथिका सारा गल्ती माफ गर्न सकिन्थ्यो र इतिहासमा उनले त्यो स्वर्ण अवसर पनि पाएका थिए । तर, नेपाल र नेपाली जनता को दुर्भाग्य नै भन्नुपर्छ बाबुरामको दुईवटा रूपले यो संविधान निर्माणको सपना सफल हुन् सकेन ।

वास्तवमा द्वन्द्वकालिन मुद्दाले तर्सिएका छन् माओवादी कार्यकर्ताहरू । कतिपय जेलमा छन्, कैयौँ वेपत्ता छन् । हिजो बाबुराम–प्रचण्डकै भाषण सुनेर, उनीहरूले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरू अहिले अंगभंग वस्थामा छन्, परिवारका सदस्य गुमाएका छन् । आफूले रोपेको बीउको फल जे–जस्तो भए पनि त्यसको जिम्मेवारी बाबुरामले भने लिनैपर्ने थियो । तर, उनी भगौडा बने । सोझासाझा गरिब निमुखा अपहेलित उत्पीडित जनतालाई मझदारमा छोडेर आफैले समग्र सिर्जना गरेको सुन्दर संसारबाट भागे । अहिले आएर कार्यकर्ताहरूले मुद्दा खेपिरहँदा बरु प्रचण्डले सगर्व घोषणा गरे– सर्वोच्च कमाण्डरको नाताले सबै घटनाको मैले जिम्मेवारी लिन्छु । तर बाबुराम…? उनलाई नयाँ शक्ति आर्जनबाट फुर्सद छैन ।

Naya Sakti

इतिहासमा कमै मान्छेलाई मात्र दोस्रो मौका हात पर्छ । प्रथम संविधानसभाले मृत्युवरण गरेपछि पहिलेका केवल दुई पात्र बाबुराम तथा सुवाष नेम्वाङलाई प्रथम संविधानसभाको निर्मम हत्याको कलंकलाई पखाल्ने भाग्य जुरेको थियो । दोस्रो पटक सभाध्यक्ष भएका सुवास नेम्वाङ पछिल्लो अवधिमा परिपक्व देखिए र केही हदसम्म कलंक पखाल्न सफल भए तर बाबुरामको दुर्भाग्य उनले संविधान निर्माणको विरोध गरेर आफ्नो छद्मभेषी रुप आफै उजागर गरे । सहमति तथा संवाद समितिजस्तो महत्वपूर्ण संयन्त्रको सभापति बनेका भट्टराईले उही ढुलमुले पारा देखाए । अन्तत: आफैंले हस्ताक्षर गरेको संविधानसमेत आत्मसात गर्न सकेनन् ।

याद रहोस्, आफ्नो प्रधानमन्त्रीत्वकालमा भट्टराईले संविधान निर्माणमा उदासिनता देखाए, तर छिमेकी रिझाउन कुनै कसर बाँकी राखेनन् । मोहन वैद्य र पुष्पकमल दाहालबाट छुट्टिएर उनी दशगजामा नेपालविरुद्ध नाकाबन्दीका लागि धर्ना बस्ने राजेन्द्र महतो र उपेन्द्र यादवहरूको गठबन्धनमा पुगेका छन् । क्षुब्ध माओवादीभित्रकै मोहन वैद्य समूहले उनीद्वारा २०५२ सालमा देउवालाई बुझाइएको उही ४० बुँदे ज्ञापनपत्र लागू गरेर देखाउन चुनौती समेत दिएका थिए । प्रधानमन्त्री बाबुरामलाई पाँच वर्षको समयावधि दिए नेपाललाई विहार बनाइदिने जस्ता दिगभ्रमित कुराको चर्चा गरेर संविधान निर्माणमा अग्रसरता देखाउनुको सट्टा नेपली जनतालाई दिशा मोड्ने प्रयत्न गरे । बाबुरामले नेपाललाई विहार बनाउने कुरा त अघि सारे नितिशनेतृत्वको प्रगतिपथमा अग्रसर समृद्ध विहार हो कि अपहरण, फिरौतीको कारखाना र अराजकतामा प्रसिद्धी पाएका लालुनेतृत्वको बिहार बनाउने कुरा गरेका थिए बुझ्न सकिएन । प्रधानमन्त्री बाबुरामद्धारा कुटनैतिक मर्यादाको उलंघन गर्दै मुख्यमन्त्री नितिश कुमारलाई भेट्न जाँदा समृद्धीतर्फ उन्मुख विहार बनाउने दिक्षाप्राप्त गर्ने उद्देश्यले गएका हुन् भनी नेपाली जनताले सोचेको थिए । नितिश कुमार प्रथम मुख्यमन्त्रीत्व कालजस्तै सडक फराकिलो अभियान, कर प्रणालीमा सुदृढीकरण, अनुगमनजस्ता कार्यको थालनी गरेर बाबुरामले प्रशंसा बटुलेका थिए तर बाबुरामको अभियानभित्र लुकेको अर्थ चलखेल समृद्ध नेपालको निर्माण नभई समृद्ध परिवार बनाउने रहस्य उजागर हुँदै गयो ।

नितिश र बाबुराममा भिन्नता के थियो भने नितिश कुमारको अभियानमा सत्यताका साथ समृद्ध विहार बनाउने लक्ष्य थियो, नितिश कुमारद्वारा समृद्ध विहार बनाउने महत्वकांक्षी अभियानमा कसैसँग कुनै प्रकारको अवान्छित सम्झौता गरेनन्, फलस्वरुप निश्कलंक, परिवारवादबाट टाढा नितिश कुमारलाई विहारी जनताले समृद्ध विहार निर्माण हेतु पुन: विशाल बहुमत दिएर पाँच वर्ष कार्यकाल थपेको मोहर लगाए । बाबुराम प्रधानमन्त्री हुँदा बाबुरामपत्नी हिसीला यमीद्वारा ‘छाया प्रधानमन्त्री’को रुपमा विभिन्न नियुक्ति तथा टेन्डरबाट अर्थ संकलन गर्ने चलखेलका समाचार सार्वजनिक हुन थाले, त्यस्तै माओवादी सहयोगी मधेसवादी दलका मन्त्रीहरू निर्धक्कका साथ दुई हातले ब्रह्मलुट गर्न ब्यस्त देखिए । नेपालमा मच्चिएको ब्रह्मलुटलाई रोक्नसक्ने क्षमता कसैमा थिएन । बाबुराम सरकारद्वारा पदमुक्तिपश्चात सर्वोच्च अदालतको अन्तरिम आदेशद्वारा थमौती भएका उपत्यका विकास आयुक्त केशव स्थापितद्वारा प्रधानमन्त्री पत्नी हिसीला यमी र उनका सचिवको द्रब्यमोह एवं अर्थ संकलनका कुरा तथ्य प्रमाणसहित सार्वजनिक रुपमा ताल ठोकेर बयान गरिरहे । तर, केशव स्थापितद्वारा प्रधानमन्त्रीको गरिमामाथि आाच आउने आरोपको सत्य तथ्यका साथ खण्डन गर्दै प्रस्तुत हुनुको सट्टा बाबुरामद्वारा मौनता धारणले ब्रह्मलूटको यथार्थलाइै स्वीकार गरेको पुष्टि हुन्छ ।

समग्रमा भन्नु पर्दा प्रधानमन्त्री बाबुरामको छद्मभेषी अभियानको नेपाली जनतासामु पोल खुल्दै गयो । नेपाली जनताले बुझिसकेका थिए वास्तवमा बाबुरामद्वारा नितिशनेतृत्वको प्रगतिपथमा रहेको विहार नभई लालु यादवपत्नी राबड़ी देवी, साला साधु र सुवास यादवको हालीमुहाली, यादववादको हैकम, फिरौती, अपहरण र बाहुबलीको बोलबालामा प्रसिद्धि पाएका लालुराजका बिहार बनाउन खोजका हुन् ।

अन्तमा, नयाँ शक्तिका अभियन्ता तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष बाबुराम भट्टराईले २१ माघ २०५२ का दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र थमाउँदै माग सम्बोधन नगरिए सशस्त्रयुद्ध छेड्ने चेतावनी दिएका थिए । यदि नयाँ शक्तिले उल्लेखित ४० बुँदे सम्झौतामध्ये १ देखि बुँदा नम्बर ९ सम्म लागु गराउन अटल अडिग भए निश्चित रुपमा नयाँ शक्ति उदयमान शक्ति बन्ने छ, नत्र भने अदृष्य शक्तिको इशारामा नेपाल अस्थिर बनाउन खोज्ने चण्डाल चौकड़ी साबित हुने छ । चेतना रहोस् ।