बीपीलाई बकपत्र

बीपीलाई बकपत्र


Rajendra Pathak 'Sagar'

– सागर

तपाईंको विचार गजधम्म फुलेको छ बीपीबाबु
भावनाहरू जेनतेन गाउँगाउँ डुलेको छ बीपीबाबु
विचारको बैंस कहिल्यै पनि आएन बीपीबाबु
खाएका कसमहरू त्यसै अलपत्र छन् बीपीबाबु
देखी जान्ने सुनी जान्ने सिद्धिइसके बीपीबाबु
साक्षीको बकपत्र गर्ने समाजवादको अगुल्टो बाँकी छ बीपीबाबु
धन्न अगुल्टो साजको परेछ यद्यपि जीवित छ बीपीबाबु
बलेको आगो सबैले ताप्छन् बीपीबाबु
भुङ्ग्रो छउन्ज्याल बलेन भन्नेले सराप्छन् बीपीबाबु
तिम्री सुम्निमाका सन्तानले आरक्षण पाए बीपीबाबु
सोमदत्तका सन्तानहरू कमान्डलुमा भिख माग्दै छन् बीपीबाबु
तपाईंको कल्पना सोमदत्त र सुम्निमाको फ्युजन थियो बीपीबाबु
बोट हुर्काइयो बिउको वास्तै गरिएन बीपीबाबु
हिटलर र यहुदीको कटाक्ष अब जर्मनीमा छैन बीपीबाबु
उनीहरू धेरै घुम्ती पार गर्दै यतैतिर आइसके बीपीबाबु
तपाईंका सहयात्रीहरूले सकसपूर्ण जीवन गुजारे बीपीबाबु
विरोधीले पद र प्रतिष्ठाको बकस खरिद गरे बीपीबाबु
वर्ग शत्रुहरू वंश बन्न सफल भए बीपीबाबु
वंशले त अंश नपाउने कुरै भएन नि बीपीबाबु
बिक्री गर्नेहरू अरू कोही थिएनन् त बीपीबाबु
यो त तपाईंको वर्णशंकरहरूको करामत हो बीपीबाबु
एकोहोरो बकपत्रले तपाईंका आँखा सजल भए बीपीबाबु
जनताको रोदन र चीत्कार मायापवको गजल भए बीपीबाबु
किसानका माग राख्ने स्वर पहिल्यै सुकिसके बीपीबाबु
परचक्रीसँग नझुक्ने शिर झुकिसकेको छ बीपीबाबु
संस्कार र संस्कृति ज्यान जोगाउन खातिर लुकिसके बीपीबाबु
पश्चिमतिरबाट एलसीसीएन भुकिसके बीपीबाबु
वर्गीय पैतृक मित्रलाई परचक्री ठानिँदै छ बीपीबाबु
छोराको काँधको बन्दुक बाबुलाई हानिँदै छ बीपीबाबु
निर्णायकको सोच र प्रकृतिको चक्र उल्टो घुमे जस्तो छ बीपीबाबु
लोकतान्त्रिक समाजवादको होस् गुमे जस्तो छ बीपीबाबु ।।२।।