‘म्यानपावर अखडा’ बन्दै छ राखेप

‘म्यानपावर अखडा’ बन्दै छ राखेप


एमालेका खाँटी कार्यकर्ता गिरी प्रहरीखोरमा

sport

अहिले गिरीको ठगी काण्डको पर्दाफाससँगै खेलकुदमा नौ रेक्टर स्केलबराबरको भुइँचालो गएको छ । खेलकुदलाई कमाइखाने भाँडो बनाउँदै आएकाहरूको होस–हवास उडेको छ । उनीहरू आफ्नो दुष्कर्मको पर्दाफास हुने सन्त्रासमा तिलमिलाएका छन् । यसर्थमा कि खेलकुदमा यो नौलो घटना होइन । गिरी अहिले आवरणमा देखिएका एउटा पात्र मात्र हुन् । गिरीजस्ता राष्ट्रिय सङ्घलाई मागिखाने भाँडो बनाउने पदाधिकारी यहाँ थुप्रै छन् । जसमा मार्सल आर्टस् खेलका पदाधिकारी नै अग्रिम पङ्तिमा छन् ।

– श्रीविक्रम भण्डारी

पछिल्लो समयमा राष्ट्रिय खेलकुद परिषद्मा च्याउझैँ दर्ता भएका राष्ट्रिय खैलकुद सङ्घहरूले अहिले आफ्नो रङ्ग देखाउन थालेका छन् । व्यक्तिगत स्वार्थ पूरा गर्न राखेपलाई प्लेटफर्म बनाएका ती सङ्घहरूले अहिले राखेपको काँधमा बन्दुक राखेर फड्काउन थालेपछि सिङ्गो खेलकुद बदनाम भएको छ । गत साता नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घ (आईटीएफ) का उपाध्यक्ष चेतनराज गिरीलाई ठगीको आरोपमा महानगरीय अपराध अनुसन्धान शाखाले पक्राउ गरेपछि खेलकुद सङ्घको नाममा भित्री खेल कस्तो भइरहेको छ त्यसको पर्दाफास भएको छ । । गिरीले कोरिया पठाइदिने भनी नक्कली खेलाडीद्वय टेकप्रसाद लामागाडे र दीपक सुनारसँग तीन लाख ६० हजार लिएका थिए । आफूलाई एमालेको खाँटी कार्यकर्ता भन्ने गिरीले लामागाडेबाट एक लाख र सुनारबाट दुई लाख ६० हजार लिएको अपराध महासङ्घ शाखाले जनाएको छ । कोरिया पठाउने भनी लामो समयसम्म आफूलाई झुलाएको र रकम फिर्ता माग्दा आनाकानी र भाग्दै हिँडेपछि टेकप्रसाद र दीपकले प्रहरीमा उजुरी हालेका थिए । सोही उजुरीको आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको थियो । अहिले प्रहरीले गिरीमाथि अनुसन्धान गरी छानबिन गरिरहेको छ । प्रारम्भिक छानबिनपछि गिरीले विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने भनी नक्कली खेलाडीबाट रकम उठाएको महाशाखाले जनाएको छ । गिरीले योभन्दा अघि पनि महासङ्घमार्फत यस्तै ठगीको कार्य गर्दा उनलाई महासङ्घले सचेत गराएको थियो । तर, ठगी खान पल्केका गिरीले उल्टै महासङ्घका पदाधिकारीलाई एमालेको धाक लगाउँदै यस्तो कार्य गर्दै आएको बुझिनमा आएको छ ।

अहिले गिरीको ठगी काण्डको पर्दाफाससँगै खेलकुदमा नौ रेक्टर स्केलबराबरको भुइँचालो गएको छ । खेलकुदलाई कमाइखाने भाँडो बनाउँदै आएकाहरूको होस–हवास उडेको छ । उनीहरू आफ्नो दुष्कर्मको पर्दाफास हुने सन्त्रासमा तिलमिलाएका छन् । यसर्थमा कि खेलकुदमा यो नौलो घटना होइन । गिरी अहिले आवरणमा देखिएका एउटा पात्र मात्र हुन् । गिरीजस्ता राष्ट्रिय सङ्घलाई मागिखाने भाँडो बनाउने पदाधिकारी यहाँ थुप्रै छन् । जसमा मार्सल आर्टस् खेलका पदाधिकारी नै अग्रिम पङ्तिमा छन् । उनीहरूले हिजो पनि अन्तर्राष्ट्रिय खेलकुदको बहानामा गैरखेलाडीलाई जापान र कोरियामा छोडेका थिए भने अहिले पनि छोड्दै आएका छन् । एउटा मार्सल आर्टस्लाई दश चिरामा विभक्त गर्दै आफ्नो दुनो सौझ्याउँदै आएका सङ्घका पदाधिकारीको मुख्य उद्देश्य भनेकै खेलकुदलाई मेनपावरको रूपमा विकसित गर्नु थियो । आफू बसेको पुरानो सङ्घबाट आफ्नो स्वार्थ पूरा नभएपछि त्यस्तै खेल अर्को गुरुको नामबाट राखेपमा दर्ता गरेर गैरखेलाडीलाई जापान र कोरिया पठाएर लाखौँ रुपैयाँ कुम्ल्याउँदै आएका थिए । खेलकुदको विकासभन्दा व्यक्तिगत विकासमा लागेर खेलकुदलाई बदनाम गर्दै आएका खेलकुदका यी धमिराले हिजो पनि खेलकुदलाई सिध्याएका थिए, आज पनि सिध्याइरहेका छन् । कुरा यति मात्रै हो । अन्यथा एकाधबाहेक नेपालका खेलकुद पदाधिकारीको हैसियत के हो ? त्यो सबैलाई ज्ञात भएकै कुरा हो ।

राजधानी काठमाडौंमा रातारात त्यसै महल बन्दैन, त्यसका लागि इमानदारीको कमाई दिवास्वप्न मात्रै हो । इमानदारीले घरबार जोड्ने भए ओलम्पियन जितबहादुर केसी मरिचझँै चाउरिने थिएनन् । हिजोसम्म प्रशिक्षक रहेका केसी आज पियनमा कदापि चित्त बुझाउने थिएनन् । खेलकुदमा जो पदाधिकारीको हाइफाई छ त्यसले हिजो होस् या आज अवश्य पनि खेलकुदलाई मुर्गा बनाएर आफ्नो दुुनो सोझ्याएको छ । उनीहरूले एउटा खेलाडी जापान या कोरिया भित्र्याउँदा दशदेखि पन्ध्र लाख असुल्दै आएका थिए । खेलकुद पदाधिकारीको सान, सौकत पनि यही अवैध मानव तस्करीबाट उठेको हो । उनीहरूको यही हर्कतले गर्दा थुप्रै राजदूतावासले उनीहरूलाई रेडलिस्टमा राखेको छ । यहाँ ती पदाधिकारीको नाम उल्लेख गर्नुभन्दा पनि जापान, कोरिया, अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियन राजदूतावासमा सम्पर्क गर्दा सहजै उनीहरूको नाम थाहा पाउन सकिन्छ । तर, यहाँ लहरो तान्दा पहरो गर्जिने पक्का छ । त्यसैले कसैको क्रियाकर्म गर्नुभन्दा पहिले यसको शुभारम्भ कसले गरेको थियो र त्यसले निरन्तरता कसरी पाइरहेको छ ? त्यो बुझ्नु जरुरी छ । पञ्चायतकालमा सीमित राष्ट्रिय सङ्घबाट मात्रै मेनपावारको धन्धा गरिन्थ्यो । यो धन्धा गर्न र गराउन सङ्घका पदाधिकारीको मात्र औकातको कुरा थिएन । यसमा राखेपका पदाधिकारी र राजदूतावासका कर्मचारीको अप्रत्यक्ष रूपमा मिलोमतो र संलग्नता हुन्थ्यो र रहन्थ्यो । साँचो रूपमा भन्नुपर्दा यो टिमवर्क थियो अर्थात् यसका लागि सिक्वेन्स मिल्नुपथ्र्याे । यही मिलेमतोमा उनीहरूले आफ्नो भागको अंशबन्डा गर्थे, गुपचुप रूपमा । त्यो कार्य त्यतिबेला अत्यन्तै गोप्य रूपमा गरिन्थ्यो ।

अहिले राखेपको नाकैमुनि मेनपावरको घिनौनो धन्दा सञ्चालन भइरहेको छ । राष्ट्रिय सङ्घहरूले सञ्चालन गर्दै आएको यो ठगीको धन्दाबाट राखेप अनभिज्ञ छैन । तर, अनसुनी र अनदेखीको नाटक मात्रै गरिरहेको छ भन्दा अतिसयोक्ति नहोला । यसर्थमा कि राखेपमा दर्ता भएका राष्ट्रिय सङ्घ कोही पनि यो धन्दाबाट अछुतो छैनन् । मात्रै कसैले धेरै गरेका छन् भने कसैले थोरै । कुरा यति मात्रै हो । अन्यथा फुटबल, तेक्वान्दो, बक्सिङ, कराते, एथलेटिक्स, सेपाकताक्रो, पौडी, सुटिङ आदि लगायतका खेलाडी बिनामिलेमतो कदापि विदेशमा हराउने थिएनन् । विदेश भगाएकै भरमा सङ्घका पदाधिकारीले खेलाडीका अभिभावकहरूसँग लाखौँलाख लिएको खबर त्यसै उठेको होइन । तर, यहाँ मिलोमतो थियो, साँचो कुरा कसैले बताएन, यसर्थमा कि त्यसबेला दुवैलाई फाइदा थियो । त्यसैले तै चुप मै चुप भएका थिए । अन्यथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश गएको छोरा या छोरी उतै हराउँदा कतै खोजतलास नगर्ने अभिभावक को हुन्थ्यो होला र ? तसर्थ हिजो पनि खेलाडी भगाएर अभिभावकसँग रकम असुल्ने कार्य सङ्घका पदाधिकारीले गरेका थिए भने आज गैरखेलाडी पनि प्रतियोगिताको बहानामा टिममा समावेश गरेर अभिभावकसँग लाखौँलाख असुल्दै आएको तीतो सत्य हो । सङ्घ दर्ता गर्ने, तर सङ्घलाई साँढैझैँ खुला छोड्ने राखेपको प्रवृत्तिका कारण आज राष्ट्रिय सङ्घहरूमा मेनपावरको धन्दा मौलाएर गएको छ । अर्थात् यो नेपाली खेलकुदमा भाइरसको रूपमा प्रवेश गरिसकेको छ । यसको रोकथाम राखेपका लागि मात्र नभई राजदूतावासहरूका लागि समेत चुनौती बनेको छ । परिणामत: अब राखेपको सिफारिससमेत राजदूतावासका लागि अमान्य बन्न थालेको छ । सङ्घहरूको मेनपावरको यो ठगीको धन्दालाई समयमै रोकथाम गर्न सकिएन भने भोलि कुनै पनि खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित नहोलान् भन्न सकिँदैन ।

यतिबेला उपाध्यक्ष गिरीले खेलकुदको हुर्मत लिएको देखिएको छ । उनलाई दुईजना गैरखेलाडीको उजुरीमा पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको अवस्था छ । तर, गिरीका कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको यति ठूलो बेइज्जत हुँदासमेत राखेपले मौनता साँध्नु विडम्बना भएको छ । राखेप अनदेखी, अनसुनी र कानमा तेल हालेर बस्नुको पछाडिको रहस्य खुल्न सकेको छैन । गिरी एमालेका कार्यकर्ता भएकाले राखेपले मौनता साँधेको भने त ठीकै छ, अन्यथा आफ्नो मातहतको एक जिम्मेवार पदाधिकारीले खेलकुदलाई चुनौती दिँदै गलत कार्य गर्दा समेत कुनै प्रतिक्रिया या कारबाही गर्दैन भने भोलि राखेप पनि दोषी बन्ने पक्का छ । गिरी काण्डपछि खेलकुदलाई आफ्नो प्रमुख निसानामा राखेको महाशाखाले भोलि अन्य खेलकुद पदाधिकारीलाई पक्रेर पर्दाफास गर्‍यो भने त्यसबेला राखेपले के गर्ला त्यो प्रतीक्षाको विषय बनेको छ । जुन औँलामा विष लाग्छ त्यही औँला झर्ने भए पनि त्यो विषको प्रभाव समग्र खेलकुदमा कति पर्छ त्यो राखेपले बुझ्नु जरुरी भइसकेको छ ।