आईसीसीकी प्यारी भावना !

आईसीसीकी प्यारी भावना !


Bhawana Ghimire

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गत साता पूर्वसीईओ भावना घिमिरेलाई नेपालको जिम्मेवारी दिएको छ । आईसीसीका डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले हालै पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ । आईसीसीले यतिबेला नेपाल प्रतिबन्धमा रहेको उल्लेख गर्दै स्थानीय तहमा सघाउन भावनालाई नियुक्ति गरेको बताएको छ । आईसीसीले सो कुराको जानकारी दुवै क्रिकेट सङ्घका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद्लाई गराएको छ । छनोट समितिको जिम्मा प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालाई दिएको छ । त्यस्तै, वैंकटपति राजुलाई छनोट समितिको सल्लाहकारमा चयन गरेको छ । राजु आईसीसी एसियाका डेभलपमेन्ट अफिसर हुन् ।

नेपाल क्रिकेट सङ्घको विवादको फाइदा उठाउँदै केही समय पहिले आईसीसीले भावनालाई नेपाली क्रिकेटको प्रमुख बनाएर विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपालमा सम्पन्न गरेको थियो । नामेवियासँग भएको उक्त खेलमा आईसीसीले हस्तक्षेप गर्दै आफ्नो पहलमा आयोजना गरेर नेपाली खेलकुदको हुर्मत लिने कार्य गरेको थियो । त्यसबेला भावनाले राष्ट्रिय खेलकुद परिषद्लाई समेत बाइपास गर्दै आईसीसीको निर्देशनमा चल्दा उनको निकै विरोध भएको थियो । किनकि क्रिकेटमा विवाद आएपछि राष्ट्रिय खेलकुद परिषद्ले भावनालाई क्रिकेटका दैनिक कार्य सञ्चालन गर्नका लागि भावनालाई सीईओ नियुक्ति गरेको थियो । पछि उनै भावनाले च्याम्पियन लिगका दौरान राखेपका सदस्यलाई पास दिन योग्यसमेत ठानिनिन् ।

नेपालमा क्रिकेटको विवाद लम्बिँदै जाँदा आईसीसीलाई नेपालमा खेल्ने शुभअवसर प्राप्त भएको छ । त्यसैको प्रतिफलको रूपमा उसले गत वैशाखमा नेपाललाई प्रतिबन्ध लगाएको थियो । अहिले पनि आईसीसीले यही कुरालाई दोहोर्‍याएको छ । नेपाललाई प्रतिबन्ध पनि लगाउने र आफ्नो स्वविवेकले प्रतिनिधि पात्र पनि चुन्ने आईसीसीको रणनीतिले गर्दा भावना अहिले आईसीसीको प्यारी बन्न पुगेकी हुन् । किनकि भावनाको काँधमा बन्दुक राखेर नेपाली क्रिकेटमाथि गोली हान्दै आएको आईसीसीले आफ्नो सुविधा र स्वार्थ पूरा गर्न भावना चुनेको सङ्घका पदाधिकारीले आरोप लगाएका छन् ।

क्रिकेटमा विवाद ल्याउन अहम् भूमिका निर्वाह गर्ने राखेपले अहिलेसम्म क्रिकेटको समाधानका लागि कुनै पहल गरेको छैन । आईसीसीले क्रिकेटको विवाद सतहमा पुगेको भन्दै गत वैशाख निलम्बन गरेपछि राखेपले सदस्य सैलेश अमात्यलाई क्रिकेटको संयोजक बनाउने कार्यबाहेक केही गरेको छैन । क्रिकेटको विवाद समाधान गर्न दुवै सङ्घहरूले लचकता देखाए पनि राखेप भने उदासीन बनेको छ । राखेप क्रिकेटको विवाद किन समाधान गर्न चाहँदैन त्यो अहिले रहस्यमय बनेको छ । प्राप्त जानकारीअनुसार पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेलको पालादेखि नै क्रिकेटमा आँखा गाड्दै आएको एमालेले पूर्ण रूपमा क्रिकेटमाथि आधिपत्य जमाउन यस्तो खेल खेलेको बुझिएको छ । अन्यथा राखेपले रमेश सिलवालको अध्यक्षतामा अर्को क्रिकेट सङ्घ कदापि गठन गर्ने थिएन । त्यसपछि नेपालमा आफ्नो प्रभाव जमाउन सफल भएको आईसीसीले पुन: नेपाली क्रिकेटमाथि हस्तक्षेप गर्ने मौका पाएको थियो । परिणाम अहिले पुन: क्रिकेटको विवाद समाधान नभएसम्म भावनालाई क्रिकेटको प्रमुख बनाउन आईसीसी सफल भएको छ ।

तर, विडम्बना † आईसीसीले नेपाली क्रिकेटमाथि ठाडै हस्तक्षेप गरेर भावनालाई सम्पूर्ण जिम्मेवारी दिँदासमेत खेलकुदको जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद् मूकदर्शक बनेको छ । अर्थात् ‘चँु’ समेत गर्न सकेको छैन । यसरी कुनै पनि कर्मचारीले चलाउने भए पदाधिकारीको आवश्यकता किन पर्छ त्यो राखेपले बुझ्नु जरुरी भइसकेको छ । अन्यथा भोलि अन्य सङ्घहरूमा पनि क्रिकेटको जस्तै विवाद देखिए सम्बन्धित सङ्घका अन्तर्राष्ट्रिय सङ्घहरूले भावना जसरी नै आफ्ना मान्छे राखेर नचलाउलान् भन्न सकिँदैन । तसर्थ आईसीसीको ठाडो हस्तक्षेपलाई शिथिल पार्न क्रिकेट सङ्घको विवाद यथाशीघ्र समाप्त गर्नुपर्ने राखेपको दायित्व भइसकेको छ ।