कैद भएको देश

कैद भएको देश


Ranjana Udas

– रञ्जना उदास

मेरो देश आफैँभित्र कैद छ
अभिमन्युले आमाको कोखभित्र
षड्यन्त्रको जालोमा घुमिरहँदाको
मेरो महाभारतको कथा ।

तत्काल कोसिस र प्रयोगको
घेराभित्र घुम्दै–घुम्दै, अखण्ड यो देश
विखण्डनको घेराभित्र जकडिँदै
टुक्राटुक्री जातभात भाषा संस्कृतिको
जगेर्ना मेरो सिङ्गो नेपालको मियो भन्दाभन्दै
अन्योल असमानताका कुवाभित्र
डुबेर प्राण जाने भो ।

मेरो देश, मेरो सपना
वीरताको कथा सुन्ने र सुनाउने
महानताको गाथा बिर्सिएर
अरू छिद्र बनाउँदै
चाल्नीको प्वालबाट तल
सप्तकोसी, गण्डकी जसले
अनमोल लहरहरूको
मूल्य चुकाउन नसक्ने हाम्रा
घर बस्ती अँधेरा छन्
कुण्ठित छन् हाम्रा पाइलाहरू ।
अनगिन्ती फूलका कोपिलाले
घोच्दै छ मुटु अब त रगत बग्न पनि बन्द पो
हुन्छ कि ?