विदेशी उद्योग लगानीमा भारत अगाडि

विदेशी उद्योग लगानीमा भारत अगाडि


nnn

नेपालमा भएका विदेशी उद्योगमध्ये नेपालको ऊर्जामूलक क्षेत्रमा भारतीय उद्योगको सबैभन्दा बढी लगानी रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको विभागको कथन छ । यस परिवेशमा मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् । विश्वमा उदाउँदो महाशक्तिका रूपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

लगानी गर्न स्वीकृति प्राप्त गरेका ६ सय ३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा ४२ करोड, ७० लाख, निर्माणमा एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा १७ अर्ब ५१ करोड ७० लाख लगानी रहेको छ । त्यस्तै खनिजमा दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा एक अर्ब ९७ करोड ५० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ ।

०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुने बताइन्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहन गर्न छुट्टै रणनीति र सरकारी निकायबीच आवश्यक समन्वयको खाँचो रहेको विभागका महानिर्देशक महेश्वर न्यौपानेको भनाइ छ । नेपालमा वि.सं. २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशका जम्मा तीन हजार ५ सय ७८ उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ ।