एक बाउट जिते एक लाख दिने घोषणा

एक बाउट जिते एक लाख दिने घोषणा


निशा रावल

रियो दि जेनेरियोमा हुने ३१औँ ग्रीष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी निशा रावलका लागि तेक्वान्दोसम्बन्धी चलचित्र रिलेसनले पुरस्कारको घोषणा गरेको छ । रिलेसन चलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा एक लाख रुपैयाँ प्रोत्साहनस्वरूप रिलेसन चलचित्रको तर्फबाट प्रदान गर्ने घोषणा गरेका हुन् ।

‘हाम्रो चलचित्र रिलेसनले तेक्वान्दोमार्फत समाजमा परिवर्तन गराएको सन्देश दिएको समयमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले हामीले उनलाई प्रत्येक बाउट जित्दा एक लाख पुरस्कार दिने घोषणा गरेका हौँ,’ महर्जनले भने । प्रत्येक बाउट जित्दा एक लाख रुपैयाँ थपिँदै जानेसमेत महर्जनले बताए ।

तेक्वान्दोसम्बन्धी चलचित्र रिलेसन अमेरिकाको पोर्टल्यान्डको हलिउड थ्रिएटरमा भव्यताका साथ देखाइएको छ । त्यसैगरी १० असारबाट नेपालका सम्पूर्ण हलहरूमा रिलेसन चलचित्र प्रदर्शन हुने तयारी रहेको अवस्थामा चलचित्रले निशालाई पुरस्कार दिने घोषणा गरेको हो । ‘चलचित्रले कमाए पनि नकमाए पनि हामी खेलकुदकर्मी भएका नाताले खेलाडीको प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो भन्ने महसुस गरेर यो घोषणा गरिएको हो,’ महर्जनले भने । तेक्वान्दोसम्बन्धी चलचित्र हेरेर खेलाडीलाई प्रोत्साहन गर्न पनि उनले आग्रह गरेका छन् ।

निशा महर्जनले स्थापना गरेको मैत्री तेक्वान्दो डोजाङकी उत्पादन हुन् । यस अघि मैत्री तेक्वान्दो डोजाङले निशालाई मैत्रीदेखि ओलम्पिकसम्म यात्रा गरेको भन्दै सम्मान गरेको थियो । रावलले २०१६ को ५ देखि २१ अगष्टसम्म हुने रियो ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी यतिबेला ओलम्पिकको विशेष तयारीका लागि दक्षिण कोरियामा छिन् ।