बलात्कारी ‘सिरियल किलर’माथि कस्तो कारबाही होला ?

बलात्कारी ‘सिरियल किलर’माथि कस्तो कारबाही होला ?


Man

बारा, डुमरवाना, खोरगाउँका मानबहादुर बुढाथोकीको सोख निकै खतरनाक थियो । उनी महिलालाई असल नियतले हेर्नै नसक्ने स्वभावका थिए । महिलालाई एकान्तमा भेट्नै नहुने, कामपिपासामा अन्धो नै हुन पुग्थे । यतिसम्म त खास अनौठो मान्नु पनि नपर्ला, तर महिलालाई बलात्कार गरेपछि हत्या गर्ने अत्यन्त पासविक प्रवृत्ति थियो मानबहादुरमा । यही खुङ्खार आपराधिक प्रवृत्तिले अन्तत: उनलाई जेलको हावा खुवाउँदै छ ।

६ जना महिलालाई बलात्कार गरी हत्या गरेको अपराधमा सजाय हुने भएपछि फरार भएका मानबहादुर प्रहरीको फन्दामा परेका छन् । स्थायी ठेगाना बारा भए पनि फरार भएपछि उनी भारतको नयाँदिल्ली, नोयडामा लुक्दै आएका थिए । प्रेम नामले समेत चिनिने ५० वर्षीय मानबहादुर बुढाथोकीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।

२०५३ असार १० गते महोत्तरी बर्दिवासनिवासी शारीरिक रूपमा असक्त २० वर्षीया महिलालाई महोत्तरी माईस्थान–३ स्थित महेन्द्र राजमार्गनजिक जङ्गलमा करणी गरी पछ्यौराले घाँटी बाँधेर मारेको अवस्थामा शव फेला परेको र उक्त घटना अनुसन्धानको क्रममा बुढाथोकी संलग्न रहेको खुल्न आएको थियो । यस्तैगरी बुढाथोकीले ०५२ र ०५३ सालका विभिन्न मिति र समयमा धनुषा र महोत्तरीका विभिन्न स्थानमा ६ जना महिलालाई बलात्कार गरी हत्या गरेको थियो । यीलगायत अन्य ३२ वटा सोही प्रकृतिको घटनामा संलग्न रही फरार रहेको बुढाथोकीले स्वीकार गरेको छ । अत्यन्त खतर्नाक यी ‘सिरियल किलर’लाई कस्तो कारबाही होला ? प्रतीक्षाको विषय बनेको छ ।

कृषिप्रधान देशमा पासपोर्टको खेती
कृषिप्रधान देश भनेर चिनिएको नेपालमा विगत २० वर्षदेखि पासपोर्टको खेती मौलाएको छ । गाउँ होस या शहर, हजारौँको सङ्ख्यामा युवायुवतीहरू रोजगारीको लागि विदेश पलायन भएका छन् । खेतबारीमा बनमासे उम्रिएको छ । राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी, प्रोफेसर, डाक्टरदेखि होटल, गेष्टहाउसका मालिक अन्य सामान्य ब्यवसाय गरेर बसेका सबैको पकेट र झोलामा पासपोर्ट भेट्न सकिन्छ । वकिलदेखि किराना पसले, कपडा पसले सबैले पासपोर्टकै खेती गर्ने गरेका छन् । कानुनको धज्जी उडाउने कसैलाई कुनै किसिमको कारवाही हुँदैन । वैदेशिक रोजगारीमा जाने निम्न र मध्यमवर्गीय युवायुवतीलाई दिनदहाडै ठगिरहँदा नियमनकारी निकायहरू भने मानव बेचबिखन जस्तो संवेदनशील विषयमा मौन रहनु र मानव तस्करलाई कानुनी दायरामा नल्याउनुले उनीहरूको मिलेमतो रहेको पुष्टि हुन्छ ।
– भरत पौडेल