मुक्तकहरू

मुक्तकहरू


Biyogi-Budhathoki

– वियोगी बुढाथोकी

खोस्रिँदा थाहा भो माटोमा मन रोपेको रै छु
परिश्रमको पसिना सिँचेर तन छोपेको रै छु
बगरको मन्द सुसाईको स्पर्शपछि थाहा भो–
आफ्नै भीर–पाखामा कलम चोपेको रै छु ।

हृदयको झङ्कार दिने सितारको तार टुट्यो
आफ्नो भाग्य पराई हुँदा जीवनको बस छुट्यो
कोलाहलबीच एक्लो बनाई को–को कता लागे–
ज्यादै पिइएछ क्यारे बेहोसीमा कसैले लुट्यो ।

धित नमरुन्जेल मदिरामा डुबेर विचार गरेँ
कत्तिको पाइन्छ सहानुभूति बुझेर विचार गरेँ
खनियो उत्सुकता र त्यही छहरामा नुहाएँ–
नसुकोस् पानी नुहाइरहन रुझेर विचार गरेँ ।

कसम भन्छु साँझमा मलाई काम नदिनु म पिउँदै हुन्छु
सूर्योदयदेखि दिनभरि उध्रेको मनलाई साँझ सिउँदै हुन्छु
मात्तिएको समयमा सिउनुले के कति अर्थ लाग्ला प्रभु–
सुत्दा सोच्छु यो अन्तिम रात होस् तर उठ्दा जिउँदै हुन्छु ।