यस्तो पनि हुन्छ विमानस्थलमा

यस्तो पनि हुन्छ विमानस्थलमा


विमानस्थलका लोडर

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई निगमका कर्मचारीले अनियमित रूपमा कमाइ गर्ने थलो बनाएका छन् । कस्टमर लोड कन्ट्रोल सर्भिसका कुलबहादुर अधिकारीले हङकङ उड्न आरए ४०९ को फ्लाइटबाट व्यापारीको ब्यागेजमार्फत आम्दानी गरिरहेको रहस्य खुल्न आएको छ । अधिकारीले चेकिङ स्टाफ कैलाश कार्की र भानुमार्फत सेटिङ मिलाएर हङकङ जाने नेपाली ध्वजावाहक विमानमा रिसिभ नकाटी बढी तौलको सामान पठाएर रकम लिने गरेको निगमकै कर्मचारी बताउँछन् ।
व्यापारीको बढी तौलको ब्यागेज पठाएर लाखौँ रूपमा निगमलाई घाटा लगाउँदै आएका अधिकारी एयरपोर्टमा आफ्नो ड्युटी समयबाहेक पनि बसिरहन्छन् । बिहान ७ देखि राति १२ बजेसम्म एयरपोर्ट सेटिङमा नै उनी व्यस्त हुन्छन् । एक किलो बढी सामान हाल्दा ८ सय तिर्नुपर्ने प्रावधान छ । २० किलोभन्दा बढी सामान सेटिङको आधारमा लैजाने गरेको खुल्न आएको छ ।

त्यसैगरी दुई साताअघि परिचयपत्र नभएका योगी भन्ने व्यक्तिलाई दिल्लीको उडानमा पठाएपछि दिल्लीको इमिग्रेसनले सो व्यक्तिलाई काठमाडौं फिर्ता पठाइदिएकोमा निगममा खैलाबैला भएको थियो । नेपाल वायुसेवा निगमले त्यसबापत एक लाख हर्जना तिर्नुपरेको बताइन्छ । अधिकारीले आफू निगमका जीएम सुगतरत्न कंसाकारको खास मान्छे भन्दै कर्मचारीलाई थर्काउँदै अनियमित क्रियाकलाप गरेकोमा पटक–पटक उजुरीसमेत परेको छ । उनी विगतमा डलर काण्डमा गिरफ्तार परेका व्यक्तिसमेत रहेको स्रोतको दाबी छ । यसरी निगमलाई घाटा लगाउँदा पनि सम्बन्धित पक्ष मौन देखिनु रहस्यमय बनेको छ ।

त्यसैगरी एयरपोर्टमा रहेका निगमका अर्का कर्मचारी डेपुटी डाइरेक्टर सुदीप महर्जनविरुद्ध व्यापारीसँग सेटिङ मिलाउँदै ठेक्कापट्टामा ४५ लाखको चलखेल गरेको उजुरी परेपछि यतिबेला उनी छानबिनको दायरामा छन् । उनलाई केन्द्रीय कार्यालयमा सरुवा गरिएको भए पनि लार्डर टेन्डरका कारण उनी एयरपोर्टमै बसिरहेका छन् । लार्डर टेन्डर खोलेपछि पनि कसलाई टेन्डर पर्‍यो भन्ने विषयमा दुई हप्तापछि मात्र टेन्डर सार्वजनिक गरेर आर्थिक चलखेल गरेको आरोप उनीमाथि छ । टेन्डरका लागि सूचीकृत नै नगरी ३५ दिने सूचना जारी गरेर पुराना सेटिङ मिलाइएका व्यापारीहरूलाई टेन्डर पार्नका लागि सोहीअनुसार कोर्स राखी टेन्डर आह्वान गरिएको बताइन्छ । सुनगाभा, आजत र नेपा नेपाल कम्पनीसँग उनको राम्रो हिमचिम भएको बुझिएको छ । उनी पनि आफूलाई जीएम सुगतरत्न कंसारकाको नजिकको मान्छे भन्दै ठेकेदारहरूसँग कारोबार गरिरहेको भेटिने गरेको एयरपोर्ट स्रोतको दाबी छ ।