गगनचुम्बी भवन नबन्दै नक्सालवासी त्रसित !

गगनचुम्बी भवन नबन्दै नक्सालवासी त्रसित !


Jagadamba

नक्सालस्थित प्रहरी मुख्यालयसामु तीनतला अन्डरग्राउन्डसहित चौधतले गगनचुम्बी होटेलको निर्माणकार्य शुरु भएपछि देशको आन्तरिक सुरक्षा जिम्मेवारी प्राप्त प्रहरी सङ्गठनकै मुख्यालयको भविष्य खतरामा परेको चर्चा गर्न थालिएको छ । यसबाट प्रहरी हेडक्वार्टरका सम्पूर्ण सुरक्षा गतिविधि तथा सञ्चार प्रविधिका गोप्यतासमेत भङ्ग हुने अवस्था निम्तिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । जगदम्बा समूहले निर्माण गर्न लागेको यस गगनचुम्बी भवनबारे प्रहरीको उच्च निकायले भने खास ख्याल नराखेको अनुभूति गरिएको सरोकारवाला नागरिक समाजको बुझाइ छ ।

तीनतला अन्डरग्राउन्डको बेसमेन्ट निर्माणका क्रममा चर्काे आवाज आउने, ठूला–ठूला मेसिनरी प्रयोग गरी चौबीसै घन्टा काम गर्दा अशान्ति भएको र आफ्ना घरको पर्खालसमेत चर्केको, दबेको र घर नै भत्किने खतरा बढेको भन्दै स्थानीयले प्रहरी युनिट, जिल्ला प्रशासन कार्यालय, महानगरपालिकामा उजुरी गर्दा र रातैभर ठूला ट्रिपरले माटो फाल्ने काम गरिरहँदासमेत प्रहरी मुख्यालयका उच्च अधिकारीले उक्त स्थानमा कसले के निर्माण गर्दै छ भन्नेबारेमा चासोसम्म नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । तीनतलाको अन्डरग्राउन्ड बेसमेन्टले पानीको स्रोत (इनार, बोरिङ) समेत सुकाउने चिन्ता उनीहरूमा बढेको छ ।

तथापि, बेलाबेलामा विभिन्न विवादमा परिरहने उद्यमी शङ्कर गोल्यानको लगानीमा निर्माण हुन लागेको जगदम्बा हस्पिटालिटीको उक्त होटेल अन्तर्राष्ट्रिय चेन होटेल हिल्टनको ‘डबल ट्री’सँग आबद्ध रहने बताइएको छ । निर्माणको ठेक्का पाएको कम्पनीका सुशील श्रेष्ठ, धीरेन्द्र मिश्रलगायतको रुखो स्वभावका कारण स्थानीय थप पीडित बन्न पुगेका छन् । पीडितहरूले महानगरपालिकामा गुहार गरेपछि छिमेकीको घर–कम्पाउन्डमा जोडेर राखिएका हेभी मेसिनरी र जेनेरेटर तत्काल हटाउन आदेश दिएको बुझिएको छ । महानगरपालिकाको आदेश अटेर गरेमा निर्माणकार्य नै रोकिदिने सम्भावना बढेबाट गोल्यान समूह अत्तालिएको र स्थानीयमा खुसी छाएको छ ।

स्मरणीय छ, एनआरएन अध्यक्ष शेष घलेको लगानीमा नारायणहिटी पश्चिममा निर्माण गर्न खोजिएको चेन होटेल सेराटनसमेत छिमेकका घर चर्केको र पानीको स्रोत सुकेको गुनासो स्थानीयले गरेपछि हाल महानगरपालिकाकै आदेशले निर्माण कार्य रोक्का गरिएको छ ।
– श्रीकृष्ण महर्जन